काठमाडौं, पुस २८ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दामा बयान सकिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेको बयान भएको हो। अब थुनछेक बहस सुरु हुने अदालत स्रोतले जनाएको छ।
थुनछेक बहसको क्रममा सरकारी वकिलको कार्यालयले पहिलो बहस गर्नेछ। त्यसपछि लामिछाने पक्षका वकिल र जाहेरवालाका वकिलले बहस गर्नेछन्।
त्यसपछि सरकारी पक्षले जवाफी बहस गर्नेछ। आजै थुनछेक बहस नटुंगिएमा न्यायाधीशले लामिछानेलाई थुनामा पठाउने वा भोलि पुनः अदालतमा हाजिर हुने गरी छाड्ने आदेश दिनेछन्।
यसअघि कास्कीको सूर्यदर्शन सहकारी ठगी मुद्दामा ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका लामिछाने स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी बयानका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन्।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिजकुमार राईको इजलासले लामिछानेसहित सातजनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा पाँच करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ गैरकानुनी रूपमा गएको प्रहरी अनुसन्धानले देखाएको छ।
प्रतिक्रिया दिनुहोस