काठमाडौँ, माघ २ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको छ। थुनछेक बहसका लागि उनलाई बुधबार अदालतमा हाजिर गराइएको हो।
न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा लामिछाने तर्फका कानुन व्यवसायीले बहस गरिरहेका छन्। लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ र सुशील पन्तले बहस गरेका छन्।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको आरोपमा अभियोगपत्र दायर भएपछि लामिछाने आइतबार अदालतमा हाजिर भएका थिए।
गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्षमा उल्लेख छ। उनीविरुद्ध सोही रकम बिगो दाबी गरिएको छ।
अदालतको आदेशअनुसार उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस