बुटवल, चैत्र २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा थुनामा पठाउने आदेश भएको छ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो।
यसअघि रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर, सोही मुद्दामा रूपन्देही जिल्ला अदालतकै न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।
धरौटीमा रिहा गर्ने आदेशविरुद्ध सरकारी वकिलले उच्च अदालतमा पुनरावेदन दर्ता गरेका थिए। त्यसपछि लामिछानेले पनि धरौटी आदेश बदर गरी साधारण तारेखमा राख्न माग गर्दै पुनरावेदन दिएका थिए।
उक्त पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले जिल्ला अदालतको धरौटी आदेश बदर गर्दै लामिछानेलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो।
प्रतिक्रिया दिनुहोस