२९ साउन २०८२ बिहिबार | 14 Aug 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बाढी–पहिरोले देशका ८ मुख्य सडक ठप्प, १३९ स्थानमा एकतर्फी यातायात



  • अञ्जना ढकाल
  • १४ घण्टा अघि
  • पाठक संख्या ५८
  • काठमाडौं, साउन २८ — हालको भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागका ८ मुख्य सडक पूर्णरूपमा अवरुद्ध भएका छन् भने १३९ स्थानमा सडक एकतर्फी मात्र सञ्चालन भइरहेको छ।

    सडक विभागका अनुसार रसुवाको स्याफ्रुबेसी–रसुवागढी सडक चीनतर्फबाट आएको बाढीले क्षति पु¥याउँदा दुई सातादेखि ठप्प छ। गत असार २४ गते भोटेकोसीमा आएको बाढीपछि मर्मत भए पनि चीनसँगको जोडिने नाका अझै खुल्न सकेको छैन।

    यस्तै, संखुवासभाको बरुण नदीमा असार २९ गते आएको बाढीले कोशी करिडोरमा डाइभर्सन बगाएपछि एक महिनादेखि यातायात पूर्ण रूपमा बन्द छ। नदीको बहाव कम भएपछि मात्रै अस्थायी बाटो निर्माण हुने बताइएको छ, त्यहाँ पुल निर्माण कार्य पनि जारी छ।

    ताप्लेजुङको फक्ताङलुङ–५ र ६ जोड्ने रानीपुल बेलीब्रिज बाढीले बगाएपछि चतरा–मुलघाट अमरापुरडाँडा–गणेश चोक सडक आवागमन रोकिएको छ।

    सिन्धुपाल्चोकको कोदारीमा साउन १८ गते गएको पहिरोले अरनिको राजमार्ग अवरुद्ध छ भने पश्चिम रुकुमको भेरी करिडोरअन्तर्गत चौखा रिजगाड, उसुम खोला र छलगाड क्षेत्रमा आएको लेदो–पहिरोले सडक पुर्णरूपमा बन्द भएको छ।

    पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तर्गत खोटाङको पंखु खोलामा बाढीले सडक कटान गरेपछि यातायात रोकेको छ। बागलुङको तानसेन–रिडी–कोरला सडकखण्डको कालीखोलामा ठूला चट्टानसहितको पहिरो खसेपछि बाटो अवरुद्ध छ र पहिरो हटाउने काम भइरहेको विभागले जनाएको छ।