काठमाडौं, साउन २८ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ तथा अभिनेत्री रेखा थापाले पार्टीभित्र बढ्दो आन्तरिक विवादका बीच विशेष महाधिवेशन बोलाउन माग गरेकी छन्।
थापाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै, “राप्रपाभित्रको किचलोले विशेष महाधिवेशनको माग भएन र?” भन्दै नेतृत्वलाई संकेत गरेकी हुन्। उनी गत महाधिवेशनमा महामन्त्री पदमा पराजित भएकी थिइन्।
हाल राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री डा. धवलशमशेर राणा पक्षबीच तनाब तीव्र बन्दै गएको छ। अध्यक्ष लिङ्देनले केही नेताहरूलाई पदमुक्त गरेपछि राणा पक्ष असन्तुष्ट बनेको हो, तर लिङ्देन पक्ष निर्णय फिर्ता गर्न तयार छैन।
विवादको चर्किएको रूप राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौंको अधिवेशनमा देखियो, जहाँ दुई पक्षबीच हाताहातसम्मको स्थिति पैदा भयो। सो घटनापछि अध्यक्ष लिङ्देनले अधिवेशन स्थगित गर्ने आदेश दिए, तर विपक्षी पक्षले भने एकतर्फी नयाँ समिति गठन गरेको छ।
प्रतिक्रिया दिनुहोस