काठमाडौं, वैशाख २५ - अबदेखि नेपालीले सञ्चालन गर्ने हरेक पानीजहाजमा राष्ट्रिय झन्डा राख्न अनिवार्य हुने कानुनी व्यवस्था हुँदैछ।
सरकारद्वारा तयार पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक हाल राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफलमा छ।
विधेयकअनुसार, झन्डा पानीजहाजको पछिल्लो भागमा फहराइनुपर्नेछ। यो व्यवस्था कर्तव्यको पालना अन्तर्गत राखिएको हो। ऐन बमोजिम दर्ता भएका सबै व्यापारिक पानीजहाजमा नेपालको झन्डा राख्नुपर्नेछ।
झन्डाले जहाजको राष्ट्रियता जनाउने र विदेशी बन्दरगाह तथा समुद्रमा सुविधा तथा सम्मान दिलाउने व्यवस्था विधेयकमा उल्लेख छ।
विधेयक समितिबाट पारित भई राष्ट्रियसभा, प्रतिनिधिसभा हुँदै राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनको रूपमा लागू हुनेछ। ऐन लागू भएपछि नेपालीले विदेशका समुद्रमा पनि आफ्नै पानीजहाज सञ्चालन गर्न सक्नेछन्।
प्रतिक्रिया दिनुहोस