काठमाडौं, जेठ ७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ। यदि सबै पक्षको बहस सकिएमा सम्भवतः आजै आदेश आउने संभावना रहेको छ।
मंगलवार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछाने र पूर्वडीआईजी छविलाल जोशीका तर्फबाट दायर दुईवटा रिटमा सुनुवाइ सुरु भएको थियो। सुनुवाइ मंगलबार नै सक्ने गरी अदालतले बहस छोट्याउन आग्रह गरे पनि सबै पक्षको बहस नसकिएकाले मुद्दा 'हेर्दाहेर्दै' मा राखिएको थियो।
मंगलबार लामिछानेको तर्फबाट अधिवक्ता सुदीज्ञ पन्त, सुशील पन्त, सुरेन्द्र थापा, दीपेन्द्र झा, नारायणदत्त कँडेल, विवेक राउतलगायतले बहस गरेका थिए। आज वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले लामिछानेको पक्षमा बहस गरिसकेका छन्। अब पूर्वडीआईजी जोशीका कानुनी प्रतिनिधि, पीडित पक्ष र सरकारी वकिलको तर्फबाट बहस हुने कार्यक्रम छ।
सर्वोच्च अदालतले सबै बहस आजै सकिएमा अन्तिम आदेश पनि आजै दिन सक्ने सम्भावना प्रकट भएको छ। अबको केन्द्रीय ध्यान अदालतको निर्णयमा केन्द्रित हुनेछ।
प्रतिक्रिया दिनुहोस