काठमाडौं, वैशाख ३० - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै पाकिस्तानलाई कडा चेतावनी दिएका छन्। उनले भारतले हालै सञ्चालन गरेको ‘अपरेसन सिन्दुर’ को प्रशंसा गर्दै यसले आतंकवादविरुद्ध नयाँ युगको सुरुवात गरेको दाबी गरे।
प्रधानमन्त्री मोदीले उक्त अपरेसनमा भारतीय सेनाले देखाएको साहस र "मेड इन इन्डिया" हतियारहरूको प्रभावकारिता उल्लेख गर्दै भने, “२१ औं शताब्दीको नयाँ युगको युद्धमा भारतको सामर्थ्य प्रमाणित भएको छ। अब भारत आफैंले बनाएको हतियारहरूको युग सुरु भएको छ।”
यद्यपि, उनले यो युग न त युद्धको हो न त आतंकवादको, तर आतंकवादविरुद्ध शून्य सहनशीलताको नीति नै आजको आवश्यकता भएको बताए। उनले स्पष्ट शब्दमा पाकिस्तानलाई चेतावनी दिँदै भने, “यदि फेरि आतंकवादी हमला भयो भने भारत कडा जवाफ दिन पछि नहट्नेछ। जहाँबाट आतंकवाद जन्मिन्छ, त्यहीँ आक्रमण हुनेछ।”
मोदीले पाकिस्तानले परमाणु हतियारको आडमा आतंकवादलाई संरक्षण दिइरहेको आरोप लगाए। “परमाणु आक्रमणको ब्ल्याकमेल अब सह्य हुने छैन। भारत सटिक र निर्णायक प्रहार गर्नेछ,” उनले भने।
अपरेसन सिन्दुरमा मारिएका आतंककारीहरूको अन्त्येष्टिमा पाकिस्तानी सेनाका उच्च अधिकारीहरूको उपस्थिति रहेको जनाउँदै उनले पाकिस्तान राज्य प्रायोजित आतंकवादको स्पष्ट प्रमाण भएको टिप्पणी गरे।
प्रधानमन्त्री मोदीले भारत र भारतीय नागरिकहरूलाई सुरक्षित राख्न निरन्तर कदम चालिने बताए। साथै, अपरेसन सिन्दुर हाललाई स्थगित मात्र भएको पनि उल्लेख गरे।
उनले पाकिस्तानलाई चेतावनी दिँदै भने, “यदि पाकिस्तान बच्न चाहन्छ भने उसले आतंकवादी संगठनहरूको संरचना ध्वस्त गर्नैपर्छ। अन्यथा, शान्तिको कुनै विकल्प छैन।”
सम्बोधनको अन्त्यमा मोदीले आतंकवाद र वार्ता, आतंकवाद र व्यापार सँगसँगै चल्न नसक्ने स्पष्ट पारे। “पानी र रगत एकैसाथ बग्न सक्दैन,” भन्दै उनले पाकिस्तानसँग वार्ता भए त्यो केवल आतंकवाद र पाकिस्तान प्रशासित कश्मीरको विषयमा मात्रै हुने बताए।
उनको सम्बोधनले भारतको कडा कूटनीतिक र सुरक्षा नीति प्रस्ट पारेको छ, जसले क्षेत्रीय परिस्थितिमा थप बहस सिर्जना गरेको छ।
प्रतिक्रिया दिनुहोस