८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

राजा ल्याउनु हुँदैन, ल्याए लडाईं हुन्छ : अध्यक्ष नारायणमान बिजुक्छे

ज्ञानेन्द्र शाहलाई पदबाट हटाइएको स्मरण गराउँदै अहिले पुनः राजतन्त्र ल्याउने प्रयास देशका लागि घातक हुने चेतावनी दिएका हुन्।



  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या ५२
  • काठमाडौं, जेठ ६ - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अहिलेको परिस्थितिमा नेपालमा राजतन्त्र ल्याउनु नहुने बताएका छन्।

    भक्तपुरमा मंगलबार आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष बिजुक्छेले संवैधानिक राजतन्त्र नमानेकै कारण पूर्वराजा ज्ञानेन्द्र शाहलाई पदबाट हटाइएको स्मरण गराउँदै अहिले पुनः राजतन्त्र ल्याउने प्रयास देशका लागि घातक हुने चेतावनी दिएका हुन्।

    उनले भारत वा अमेरिकाले नेपालको राजनीतिमा हस्तक्षेप गर्दै राजतन्त्र पुनःस्थापना गर्न खोजे त्यसले सशस्त्र द्वन्द्व निम्त्याउने दाबी गरे।

    "अहिलेको राजाले त सबैलाई जेल हाल्यो, विरोध भएर गयो। फेरि आयो भने फेरि जान्छ। बाँकी केही रहँदैन," अध्यक्ष बिजुक्छेले भने, "यदि त्यसलाई भारत वा अमेरिकाले ल्यायो भने लडाईं हुन्छ देशमा। बन्दुक बाहेक अरु उपाय जनताले मान्दैनन्।"

    उनले अफगानिस्तानको उदाहरण दिँदै बाहिरबाट ल्याइएका राजाले गद्दीमा टिक्न नसक्ने संकेत पनि गरे।

    वर्तमान राजनीतिक दलहरूप्रति असन्तुष्टि व्यक्त गर्दै उनले दलहरू आन्तरिक झगडामा लागेर देशको बाँकी केही स्रोतसमेत गुम्न सक्ने चिन्ता व्यक्त गरे।

    "हामीलाई डर छ, पार्टीहरू झगडा गरेर बाँकी रहेका एक-दुईवटा नदीनाला पनि नदेलान्," उनले भने, "राजा आयो भने उसले त बोलाएर सही गराउँछ। सकिन्छ। त्यसैले अहिले राजालाई ल्याउनु हुँदैन।"

    अध्यक्ष बिजुक्छेले वर्तमान दलहरूले कार्यकर्ताहरूलाई पैसा र जग्गा बाँड्नेमात्र काम गरिरहेको आरोप पनि लगाएका छन्।