२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सहमति भयो, अब प्रतिनिधि सभा सञ्चालन हुन्छ : अध्यक्ष प्रचण्ड

अब प्रतिनिधि सभाको बैठक सञ्चालन हुने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बताएका छन्।



  • अञ्जना ढकाल
  • ३ हप्ता अघि
  • पाठक संख्या १४४
  • काठमाडौं, जेठ ३० - प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच दुई बुँदे सहमति भएसँगै अब प्रतिनिधि सभाको बैठक सञ्चालन हुने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बताएका छन्।

    शुक्रबार बसेको बैठकमा दलहरूबीच भिजिट भिसा र अध्यागमन प्रकरणका विषयमा सहमति जुटेको हो। सहमतिमा उल्लेख भएअनुसार, यस प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ र आयोगलाई निष्कर्षमा पु-याउन नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ।

    सहमतिको दोस्रो बुँदामा सरकारले अध्यागमन र भिजिट भिसासम्बन्धी विगतदेखि देखिँदै आएका समस्याको समाधानका लागि अध्ययन, छानबिन तथा नीतिगत, कानूनी र संरचनात्मक सुधारका उपायहरू अवलम्बन गर्ने प्रतिबद्धता जनाएको छ।

    यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने उक्त सहमतिमा हस्ताक्षर गरेको छैन। रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको गठनको अडान यथावत राखेको छ।

    अध्यक्ष प्रचण्डले रास्वपा केही समय आफ्नै ढंगले अघि बढ्ने भए पनि दलहरूबीच आपसी आरोप-प्रत्यारोप नहुने स्पष्ट पारे। आज अध्यक्ष प्रचण्ड र रास्वपाबीच छलफल पनि भएको थियो।

    यो सहमतिसँगै लामो समयदेखि अवरुद्ध हुँदै आएको संसद् बैठक पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ।