२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

इजरायल–इराक युद्ध : स्वदेश फर्कन चाहने नेपालीको लागि २४ सै घण्टा हेल्प डेस्क सञ्चालन हुने

युद्धको कारण स्वदेश फर्कन चाहने नेपाली नागरिकको सहयोगार्थ सरकारले २४ सै घण्टा सञ्चालन हुने हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको छ।



  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या १०६
  • काठमाडौं, असार ६ – इजरायल–इराकबीच जारी युद्धको कारण स्वदेश फर्कन चाहने नेपाली नागरिकको सहयोगार्थ सरकारले २४ सै घण्टा सञ्चालन हुने हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको छ।

    परराष्ट्र मन्त्रालयमा शुक्रबार बसेको चार मन्त्रालयका अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको पहलमा भएको उक्त बैठकमा श्रम तथा रोजगारमन्त्री शरदसिंह भण्डारीको समेत उपस्थिति थियो। गृह तथा पर्यटन मन्त्रालयबाट सचिवस्तरका प्रतिनिधि सहभागी थिए।

    बैठकमा परराष्ट्र, गृह, श्रम तथा रोजगार र पर्यटन मन्त्रालयका प्रतिनिधिहरू रहने गरी हेल्प डेस्क स्थापनाको निर्णय गरिएको हो। उक्त डेस्क २४ सै घण्टा सञ्चालन हुनेछ, जसले युद्धग्रस्त क्षेत्रबाट स्वदेश फर्कन चाहने नेपालीहरूको जानकारी संकलन र उद्धारमा सहजीकरण गर्नेछ।

    परराष्ट्रमन्त्री राणाले युद्धपछि उत्पन्न परिस्थितिलाई गम्भीरतापूर्वक मूल्याङ्कन गरिएको बताउँदै, स्वदेश फर्कन चाहने नेपाली नागरिकहरूलाई मन्त्रालयद्वारा सञ्चालन गरिएको अनलाइन पोर्टलमा आफ्नो विवरण दर्ता गर्न अपिल गरेकी छिन्।

    बैठकमा इजरायल र इराकमा रहँदै आएका नेपालीहरूलाई कसरी सुरक्षित रुपमा उद्धार गरी नेपाल ल्याउने भन्ने विषयमा गम्भीर छलफल भएको र आवश्यक रणनीति तय गरिएको जानकारी मन्त्री राणाले दिइन्।