काठमाडौं, असार २४ - रसुवामा आएको भीषण बाढीपछिको आपतकालीन अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेक आफ्ना सम्पूर्ण पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरेका छन्।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् बाढी प्रभावित क्षेत्रमा सरकारले युद्धस्तरमा उद्धार कार्य गरिरहेको जनाएका छन्। उनले भनेका छन्, “तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण त्रिशुली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको छ।”
सरकारी संयन्त्रमार्फत उद्धार र राहत कार्यमा कुनै कसर बाँकी नराख्न निर्देशन दिइएको प्रधानमन्त्री ओलीको भनाइ छ। साथै, उनले सम्पूर्ण सरकारी निकाय तथा आम नागरिकलाई उद्धार कार्यमा सहकार्य गर्न आह्वान समेत गरेका छन्।
प्रधानमन्त्रीका अनुसार बाढीले केही नागरिकको ज्यान लिएको र केही अझै बेपत्ता रहेको दुःखद समाचार प्राप्त भएको छ। साथै, ठूलो मात्रामा भौतिक क्षति पनि भएको उनले बताएका छन्।
ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री ओलीले पीडामा परेका परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।
उनले भनेका छन्, “यस दुःखद क्षणमा अत्यावश्यक बाहेकका कार्यक्रमहरु स्थगित गर्दै सुरक्षा निकायसँग नियमित रुपमा उद्धार कार्यको रिपोर्टिङ लिइरहेको छु। साथै, सम्भावित विपद् क्षेत्रमा आपतकालीन सहायता प्रदान गर्न तीव्र समन्वय गरिएको छ।”
प्रतिक्रिया दिनुहोस