२४ असार २०८२ मंगलबार | 08 Jul 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कुकुरसँग बस्दै भुक्न थालेका ८ वर्षीय बालकको उद्धार

आफ्नी आमा र दाजुबाट भावनात्मक रूपमा त्यागिएका बालक कुकुरहरूको संगतमा हुर्किँदै गएपछि उनी स्वयं कुकुरजस्तै व्यवहार गर्न थालेका थिए।



  • एजेन्सीको सहयोगमा
  • ५ घण्टा अघि
  • पाठक संख्या ७५
  • थाइल्याण्ड, असार २४ - थाइल्याण्डको उत्तरादित प्रान्तमा एक ८ वर्षीय बालकको विचित्र र पीडादायी जीवनकथाले स्थानीय समाजलाई स्तब्ध बनाएको छ। आफ्नी आमा र दाजुबाट भावनात्मक रूपमा त्यागिएका बालक कुकुरहरूको संगतमा हुर्किँदै गएपछि उनी स्वयं कुकुरजस्तै व्यवहार गर्न थालेका थिए।

    बालककी आमा वर्षौंदेखि लागूपदार्थको दुर्व्यसनमा फसेकी थिइन्। उनले न बालकको हेरचाह गरिन्, न त शिक्षा वा स्वास्थ्यमा ध्यान दिइन्। बालकलाई एकपटक विद्यालय ल्याइएको भए पनि त्यो पनि सरकारी सहयोगको नाममा मात्र थियो। विद्यालयमा भर्ना नहुनु र घरमा उपेक्षा भोगेपछि ती बालकले मानवीय सम्बन्धको खोजी कुकुरहरूमा गर्न थाले।

    कुकुरहरूसँग निरन्तर बसोबासपछि बालकको बोली, हाउभाउ र व्यवहार नै कुकुरको जस्तो बन्न पुगेको छ। उनी अरूसँग बोल्ने होइन, भुक्ने गर्थे। उनका साथी कुकुरहरू बने। न खेलौना थियो, न किताब—थियो त केवल एक्लोपन, उपेक्षा र कुकुरहरूको साथ।

    स्थानीय विद्यालयका प्रधानाध्यापकको जानकारीपछि फाउन्डेशन फर चिल्ड्रेन एन्ड वुमेनकी सामाजिक अभियन्ता पाविना होङसाकुलले प्रहरीसँग समन्वय गरी अनुसन्धान सुरु गरिन्। अनुसन्धानले आमाले बालकलाई बेवास्ता गरेको पुष्टि गर्‍यो। ४६ वर्षीया आमा र २३ वर्षे दाजु दुवै लागूपदार्थ प्रयोगकर्ताका रूपमा भेटिए।

    स्थानीयले ती परिवारबाट टाढा रहने गरेको देखियो, जसका कारण बालक अझै एक्लिएका थिए। अन्य बालबालिकाले पनि उनलाई टाढा राखेपछि कुकुरहरू नै उनको परिवार बने।

    हाल ती बालकको उद्धार गरी उत्तरादित बाल गृहमा राखिएको छ। बोल्न गुमाएका ती बालकलाई पुनः मानवीय भाषा सिकाउने प्रयास भइरहेको छ। साथै, थाई सरकारले उनको शिक्षा सुनिश्चित गर्ने व्यवस्था गरेको छ। गोपनीयताका कारण बालकको नाम सार्वजनिक गरिएको छैन