जनकपुर, साउन ३० - जनकपुरधाममा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई शासकको रूपमा नभई जनताको सेवकको रूपमा काम गर्न निर्देशन दिएका छन्। मधेस प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले मुलुकमा सुशासन र शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिकालाई अत्यन्त महत्वपूर्ण बताए।
उनका अनुसार प्रहरीले न्यायोचित ढङ्गले काम गर्नुपर्छ र अतीतमा देखिएको जस्तो झुटा आरोप लगाउने, यातना दिने वा जनतालाई दमन गर्ने गतिविधि दोहोरिनु हुँदैन। “राणा शासन वा पञ्चायती कालमा शासनसत्ता जोगाउनका लागि गरिने अन्यायपूर्ण कार्य अहिले लोकतान्त्रिक समाजमा अस्वीकार्य छ,” उनले भने।
प्रधानमन्त्री ओलीले हाल केही तत्त्वहरूले अराजक फैलाउने, नयाँ शक्तिको भ्रम सिर्जना गर्ने र मुलुकको स्थिरतामा बाधा पुर्याउने प्रयास गरिरहेको आरोप लगाए। यस्तो प्रवृत्तिलाई रोक्न समाज र राष्ट्रले उचित सजाय दिनुपर्ने उनको भनाइ थियो।
उक्त कार्यक्रममा उनले बढ्दो आपराधिक क्रियाकलाप, चोरी–डकैती, लागुऔषधको दुरुपयोग, सीमा क्षेत्रका तस्करी तथा अवैध मानव ओसारपसार रोक्न प्रहरी संगठनले इमानदारीपूर्वक र गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिए। साथै, भ्रष्टाचार नियन्त्रण र जनतालाई छिटोछरितो सेवा पुर्याउन पनि उनले प्रहरीलाई आग्रह गरे।
मधेस प्रदेश सरकारले समयसापेक्ष भौतिक सुविधा सम्पन्न प्रहरी भवन निर्माण गरेकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्रीले उक्त भवनको निरीक्षणसमेत गरे। उनका अनुसार, लोकतन्त्रको रक्षा र दिगोपनाका लागि सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू एकजुट भएर काम गर्न जरुरी छ।
प्रतिक्रिया दिनुहोस