२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

लिङ्देनको दाबी : २०८४ को निर्वाचनमा राप्रपा पहिलो शक्तिशाली दल बन्छ



  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या ४१५
  • झापा, भदौ १५ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले २०८४ सालको प्रतिनिधिसभा निर्वाचनमा राप्रपा मुलुककै पहिलो राजनीतिक शक्ति बन्ने दाबी गरेका छन्।

    शनिबार विर्तामोडमा भएको पार्टीको ११औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले जनताले राप्रपाप्रति बढ्दो विश्वास देखाइरहेको र त्यसकै आधारमा राप्रपाले आगामी निर्वाचनमा अग्रस्थान हात पार्ने बताए।

    अध्यक्ष लिङ्देनले संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचन प्रणाली ल्याई कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्नेमा जोड दिए। साथै, भ्रष्टाचार र कुशासनविरुद्ध राप्रपा अडिग रहने स्पष्ट पार्दै पार्टीभित्र अनुशासन तोड्ने वा अवसरवाद देखाउने प्रवृत्तिबाट सावधान हुन पनि नेता–कार्यकर्तालाई चेतावनी दिए।

    “राप्रपा केवल राजनीतिक दल मात्र होइन, भ्रष्टाचारविरुद्धको अभियान पनि हो। पार्टी बलियो बने मुलुक स्वतः समृद्ध बन्छ,” उनले भने।

    कार्यक्रममा राप्रपाका प्रमुख सचेतक एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले देशको अवस्था बदल्न वर्तमान शासन प्रणालीमा परिवर्तन आवश्यक रहेको टिप्पणी गरे। त्यस्तै, केन्द्रीय सदस्य खुश्वु ओलीले राप्रपाले बहुमतसहितको सरकार बनाए मात्र देशमा वास्तविक परिवर्तन सम्भव हुने धारणा राखिन्।

    अधिवेशनले केशव ओझाको अध्यक्षतामा जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ।