काठमाडौं, पुस १७ - नेकपा (एमाले) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा २१ जिल्लाबाट एक जना पनि प्रतिनिधित्व नभएको पाइएको छ । आयोगको प्रारम्भिक अध्ययन अनुसार एमालेको सूचीमा ५६ जिल्लाका उम्मेदवार समेटिएका छन् ।
प्रतिनिधित्व नपाउने जिल्लामा मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगा, गोरखा, बागलुङ, ताप्लेजुङ, तेह्रथुम, रसुवा, मनाङ, नवलपुर (नवलपरासी पूर्व), रूपन्देही, सल्यान, पश्चिम रूकुम, दैलेख, डोल्पा, डोटी, जुम्ला, बाजुरा, बैतडी र डडेल्धुरा रहेका छन् ।
यता झापाबाट भने सबैभन्दा धेरै ९ जनाको नाम समानुपातिक सूचीमा समावेश गरिएको छ । झापा ठेगाना भएका उम्मेदवारहरूमा जनजाति महिला तर्फ अनिता सुब्बा, जनजाति पुरुषमा विद्यानन्द राजवंशी, खसआर्य महिलामा नर्मदादेवी सिवाकोटी, मेकुका काफ्ले र लता प्रसाईं छन् । यस्तै दलित महिला तर्फ निता घतानी, दलित पुरुषमा जितु दर्जी गौतम र सोम पोर्तेल तथा मधेशी महिलामा बिना शाह महतो समेटिएका छन् ।
एमालेले पुस १३ र १४ गते तोकिएको समयभित्र समानुपातिक तर्फ ११० जनाको बन्दसूची निर्वाचन आयोगमा बुझाएको थियो । २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ ।
निर्वाचन आयोगले दलहरूले बुझाएका बन्दसूचीहरूमा कानुनले तोकेको समावेशी कलस्टर मिलेको छ वा छैन भन्ने विषयमा अध्ययन सुरु गरिसकेको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस २० गतेसम्म अध्ययन सम्पन्न गरी आवश्यक संशोधनका लागि दलहरूलाई जानकारी गराइनेछ ।
कलस्टर नमिलेका विषयमा दलहरूलाई पत्राचार गरिने र पुस २७ गतेसम्म सूची संशोधन गर्न समय दिइने आयोगले जनाएको छ । उम्मेदवारले पुस २८ गते नाम फिर्ता लिन सक्नेछन् भने सोको जानकारी २९ गते सम्बन्धित दललाई दिइनेछ । रिक्त स्थानमा नयाँ उम्मेदवार सिफारिस गर्ने समय ३० पुस तोकिएको छ ।
आयोगको कार्यतालिका अनुसार ४ माघमा प्रारम्भिक बन्दसूची सार्वजनिक गरिनेछ । त्यसपछि ५ देखि १० माघसम्म दावी–विरोध दर्ता गर्न सकिनेछ । ११ देखि १७ माघसम्म जाँचबुझपछि २० माघमा अन्तिम बन्दसूची प्रकाशन गरिने आयोगले जनाएको छ ।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि २१ फागुनमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने कार्यतालिका छ ।
प्रतिक्रिया दिनुहोस