विराटनगर, माघ ७ - झापा क्षेत्र नम्बर–५ अन्तर्गत कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। उनले कांग्रेसको सचिव पदसहित साधारण सदस्यताबाट समेत राजीनामा दिएको जानकारी दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको राजीनामा पत्रमा बुढाथोकीले पार्टी नेतृत्व र कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। पार्टीभित्र मेहनत गर्ने कार्यकर्ताको योगदानको कदर नहुने र केही सीमित व्यक्तिले मात्र फाइदा लिने प्रवृत्ति हावी भएको उनको आरोप छ।
उनले पार्टी प्रणालीभन्दा नेताको आदेश हावी हुने संस्कारमा सुधारको कुनै संकेत नदेखिएको उल्लेख गर्दै यथास्थितिवादी सोच र व्यक्तिगत स्वार्थमा केन्द्रित नेतृत्वले युवामैत्री राजनीति निर्माणमा बाधा पुर्याएको बताएका छन्।
राजीनामापछि बुढाथोकीले रवि लामिछानेको नेतृत्वमा रहेको रास्वपाको अभियानमा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाएका छन्। साथै, उनले झापा–५ बाट बालेन शाहलाई विजयी गराउन निस्वार्थ सहयोग गर्ने घोषणा पनि गरेका छन्।
प्रतिक्रिया दिनुहोस