काठमाडौँ — कुवेतस्थित ‘दुःखीको सहारा परिवार कुवेत’ ले चितवनको देउराली राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरूलाई कापी, कलम, पेन्सिललगायत विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ।
संस्थाका एक सदस्यका अनुसार ‘दुःखीको सहारा परिवार कुवेत’ को मुख्य उद्देश्य नेपालमा रहेका असहाय, उत्पीडित तथा दुःखमा परेका व्यक्तिहरूलाई सक्दो सहयोग गर्नु हो। कुवेतमा घरेलु कामदार तथा विभिन्न कम्पनीमा कार्यरत नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले आफ्नो कठिन श्रमबाट बचत गरेको रकम संकलन गरी संस्थामार्फत नेपालमा सहयोग गर्दै आइरहेका छन्।
विद्यालयलाई प्रदान गरिएको यो सहयोगलाई समाजसेवाको दृष्टिले सकारात्मक र सराहनीय कार्यका रूपमा हेरिएको छ। विदेशमा श्रम गरेर कमाएको सानो–सानो रकम संकलन गरी विद्यार्थीहरूको शिक्षामा योगदान पुर्याउनु प्रशंसायोग्य पहल हो।
तर यसै क्रममा एउटा गम्भीर र चिन्ताजनक पक्ष पनि सार्वजनिक भएको छ। कागजातअनुसार कुल रु ४४,५८१ बराबरको शैक्षिक सामग्री वितरणको नाममा रु ३१,९८५ खर्च भएको देखिन्छ। अर्थात् कुवेतबाट संकलन गरी पठाइएको रकमको ठूलो हिस्सा प्रत्यक्ष सामग्री वितरणभन्दा खर्च शीर्षकमा गएको तथ्य बाहिर आएको हो।
विदेशमा कठिन परिश्रम गरेर संकलित रकम अधिकतम रूपमा विद्यार्थीहरूको हितमा खर्च हुनुपर्ने अपेक्षा स्वाभाविक हो। तर खर्च र सामग्री वितरणबीचको यो असन्तुलनले समाजसेवाको मर्म, पारदर्शिता र सहयोगप्रतिको विश्वासमाथि प्रश्न खडा गरेको सरोकारवालाहरू बताउँछन्।
समाजसेवा निस्वार्थ भावनाबाट गरिने कार्य हो। त्यसैले भविष्यमा यस्ता सहयोग कार्यक्रमहरू सञ्चालन गर्दा खर्च व्यवस्थापन, पारदर्शिता र उत्तरदायित्वमा अझ बढी ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ।
प्रतिक्रिया दिनुहोस