१३ पुष २०८२ आईतबार | 28 Dec 2025 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

स्वच्छ वातावरणको सन्देशसहित मरिना बीचमा युवा शक्ति कुवेतको सरसफाई अभियान



  • सिमोन भट्टराई
  • १ हप्ता अघि
  • पाठक संख्या १५३
  • कुवेत — नेपाली सामाजिक संस्था युवा शक्ति कुवेत ले पहिलो चरणअन्तर्गतको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न गरेको छ।

    डिसेम्बर १९ तारिखका दिन कुवेतको साल्मिया क्षेत्रमा रहेको मरिना सामुद्रिक तटीय क्षेत्र (Marina Beach) मा आयोजना गरिएको उक्त अभियानमा युवा शक्ति कुवेतका पदाधिकारी, सदस्य तथा स्वयंसेवकहरूको सक्रिय र उत्साहजनक सहभागिता रहेको थियो। स्थानीय सरकारको आवश्यक अनुमति प्राप्त गरी सञ्चालन गरिएको कार्यक्रममा सामुद्रिक तटमा छरिएका प्लास्टिक, कागज, बोतललगायतका फोहरजन्य सामग्रीहरू संकलन गरी व्यवस्थित रूपमा व्यवस्थापन गरिएको थियो।

    समुद्री वातावरणको संरक्षण गर्नु र समुदायमा वातावरणीय चेतना विस्तार गर्नु नै यस अभियानको प्रमुख उद्देश्य रहेको आयोजक संस्थाले जनाएको छ। कार्यक्रममा सहभागी युवाहरूले यस्ता सामाजिक तथा वातावरणीय अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउँदै “स्वच्छ वातावरण हाम्रो साझा जिम्मेवारी हो” भन्ने सन्देश प्रवाह गरेका थिए।

    उक्त सरसफाई अभियानमा युवा शक्ति कुवेतका सदस्यहरूसँगै संस्थालाई माया गर्ने विभिन्न समाजसेवी व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै नेपाली दूतावास कुवेतका तृतीय सचिव नवीन पराजुली तथा गैरआवासी नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष विकास सिंह ठकुरीको समेत सहभागिता रहेको थियो।

    कार्यक्रमका अवसरमा तृतीय सचिव नवीन पराजुलीले युवा शक्ति कुवेतले सञ्चालन गर्दै आएका सामाजिक तथा वातावरणीय गतिविधिहरूको प्रशंसा गर्दै यस्ता अभियानहरूले समाजमा सकारात्मक सोच र चेतना फैलाउने विश्वास व्यक्त गरे।

    यसै क्रममा क्वालिटी खबर सँगको संवादमा युवा शक्ति कुवेतका अध्यक्ष विशाल डल्लाकोटीले आगामी सरसफाई अभियान यही डिसेम्बर २६ गते शुक्रबार पुनः मरिना क्षेत्रमै आयोजना गरिने जानकारी गराए।

    कार्यक्रममा सहभागी सम्पूर्ण स्वयंसेवक तथा उपस्थित व्यक्तिहरूका लागि हिमालयन हाउस रेस्टुरेन्ट को सौजन्यमा निःशुल्क चिया नास्ताको व्यवस्था गरिएको थियो, जसले अभियानलाई थप प्रेरणादायी बनाएको थियो।

    युवा शक्ति कुवेतले आगामी दिनहरूमा पनि यस्ता रचनात्मक, सामाजिक तथा वातावरणीय कार्यक्रमहरूलाई निरन्तर सञ्चालन गर्दै समाज र वातावरण संरक्षणमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।