विराटनगर, माघ ८ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह चुनावी प्रचारका क्रममा इलाम पुगेका छन्। उनले इलामका विभिन्न स्थानमा घरदैलो कार्यक्रम गर्दै मतदाता, पार्टी कार्यकर्ता तथा समर्थकसँग भेटघाट गरेका छन्।
इलाममा गरिएको घरदैलो अभियानमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ का रास्वपा उम्मेदवार विमल गदाल र क्षेत्र नम्बर–२ का उम्मेदवार गोकुलबहादुर राई पनि बालेन शाहसँगै सहभागी थिए।
झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका बालेन शाहले बिहीबार बिहान इलाम पुगेर आफ्ना पार्टीका उम्मेदवारलाई मतदान गर्न मतदातासँग आग्रह गरे।
यसअघि मंगलबार उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने गरी प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराइसकेका छन्। मनोनयनपछि बुधबार उनले दमकस्थित सम्पर्क कार्यालयमा पार्टी कार्यकर्ता तथा समर्थकसँग छलफल र भेटघाट गरेका थिए।
चुनावी अभियानकै क्रममा शाहले झापा, मोरङ र सुनसरीका विभिन्न क्षेत्रमा रास्वपाका उम्मेदवारसँग भेटघाट गरेका छन्। रास्वपाले बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ भने उनलाई झापा–५ बाट उम्मेदवार बनाएर अन्य निर्वाचन क्षेत्रमा पनि प्रचारप्रसारमा सक्रिय रूपमा परिचालन गर्ने रणनीति बनाएको छ।
प्रतिक्रिया दिनुहोस