१३ असार २०८३ शनिबार | 27 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

डोजर चलाउने मान्छे आए भन्ने डर झापामा फैलिएको छ : ओली



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या १७५
  • काठमाडौं, माघ ८ - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापाका सुकुम्बासी समुदायमा डोजर लगाइने डर फैलिएको बताएका छन्।

    बुधबार राष्ट्रिय युवा संघ क्षेत्रीय समन्वय समिति, झापा क्षेत्र नम्बर–५ को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही सुकुम्बासीहरू आफूहरू हटाइने हो कि भन्ने आशंकामा रहेको बताए।

    उनका अनुसार सुकुम्बासीहरूले ‘डोजर लगाएर भत्काउन मान्छे आउँदैछन्’ भन्ने हल्ला सुनेपछि डराउन थालेका छन्। “को–को मान्छे आएका छन् भनेर हामीलाई डर लागिरहेको छ भनेर सुकुम्बासी साथीहरूले भने,” ओलीले बैठकमा उल्लेख गरे।

    अध्यक्ष ओलीले २०६४ सालमै नयाँ भनिएका शक्तिलाई भोट दिँदा विकास नहुने कुरा पुष्टि भइसकेको दाबी गरे। “न विकास भयो, न जनतासँग सम्पर्क रह्यो। एउटै सानो कामसमेत अघि बढेन,” उनले भने। नयाँ शक्ति भन्दै आएको विकल्प जनताका लागि तीतो अनुभव बनेको उनको टिप्पणी थियो।

    नयाँ भन्दैमा भोट हाल्न नहुने धारणा राख्दै ओलीले बैंकले पनि धितो बिना नोट नछाप्ने उदाहरण दिए। “बैंकले धितो खोज्छ, तर भोट हाल्दा मान्छेको काम खोजिँदैन?” भन्दै उनले प्रश्न गरे।

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई संकेत गर्दै ओलीले झापामा उनले गर्ने खास काम नै नभएको दाबी गरे। “उहाँले यहाँ के गर्नुहुन्छ? उहाँको घरअगाडिको बाटो र पुल मैले नै बनाइदिएको हुँ,” ओलीले भने।

    महोत्तरीको मटिहानीदेखि जनकपुर जाने बाटोमा पनि पुल हालिएको स्मरण गराउँदै ओलीले एमालेले काम गरेर देखाउने पार्टी भएको दाबी गरे। “काम न गरेको, न देखाएको मान्छेलाई राष्ट्रिय भिजन भएको भन्न मिल्दैन,” उनले भने।