माघ महिनाको चिसो जाडोमा बिहान ५ बजे उठेर म मेरो सामानहरू प्याक गर्न थाले। त्यो तयारी मेरो एउटा यात्राको थियो। जुन यात्रा मेरो लागि निकै महत्वपूर्ण हुनेवाला थियो। त्यो यात्रा मेरो गाउँको थियो, मेरो जन्मभूमि गोरखा नामजुङ्गको।
आफ्ना सामानहरू प्याक गरेर सम्पूर्ण तयारी सकेपछि म बसपार्कको लागि निस्किए। बसपार्क पुगेर मैले एउटा टिकट लिए जसमा बस छुट्ने समय ७:१५ लेखेको थियो। त्यो बसमा लेखेको थियो नामजुङ, घैरुङ, फुजेल, बतासे। म बस छुट्ने समयभन्दा केही अगाडि पुगेको कारणले आफ्नो सिटमा गएर बसे र मनमा विभिन्न कुराहरू खेलाउन थाले। चुनाव नजिकिएकाले होला मेरो मनमा त्यही चुनावको कुरामात्र खेलिरहेको थियो। त्यसमा पनि त्यो एउटा प्रश्न मेरो दिमागमा घुमिरहेको थियो जुन प्रश्न अहिले हरेक नेपालीको मनमा घुमिरहने गर्छ र त्यो हो भोट कसलाई हाल्ने?
यस्तै कुरा सोच्दा सोच्दा बस छुट्ने समय भयो। बस गोरखा नामजुङको यात्रामा अगाडि बढ्न थाल्यो। कलंकीसम्म पुग्दा यात्रुहरु सबै बसमा चढिसकेका थिए र अब बसको सबै सिठ प्याक भइसकेका थियो। म सँगैको सिठमा एउटा हजुरबुवा पर्नुभएको थियो। कुरा गर्दै जाँदा उहाँ पनि नामजुङकै हुनुहुँदो रहेछ। बिरामी भएको कारणले गर्दा उहाँ काठमाडौं आउनुभएको रहेछ। उहाँको श्रीमती पनि बेलाबेलामा बिरामी भइराख्नु हुँदोरहेछ। मैले पनि उहाँलाई म पढ्नको लागि शहर पसेको कुरा बताए। बसभरी मात्र चुनावकै कुरा हुदैथियो र सबैको साझा प्रश्न थियो भोट कसलाई हाल्ने? कसैले भन्दै थिए 'पुरानालाई धेरै हेरियो अब नयाँलाई भोट हाल्ने हो ।' र कसैले चाहिँ अब जसलाई दिएपनि हाम्रो स्थिति, परिस्थिति केही फेरिएन म त भोट नहाल्ने भन्ने तर्क राखे । बस नौबिसेमा गएर केही बेर रोकियो र फेरी अगाडि बढ्न थाल्यो। यात्रुको चुनावी कुरा अझै सकिएको थिएन। सबैले आफ्ना आफ्ना धारणा राख्दै अब कसलाई भोट हाल्ने कसलाई जिताउने भन्दै छलफल गर्दै थिए। म पनि उनीहरूको कुरा गम्भीर रुपमा सुन्दै थिए।
त्यही बीचमा मसंगैको सिटमा बस्नुभएको हजुरबुवाले भन्नुभयो, 'नानी तिमी त पढेलेखेको रैछौ अब कसलाई भोट दिंदा ठीक होला त? हामी त बुढाबुढी मात्र बस्छौ गाउँमा । छोरा बुहारी आफ्नो बालबच्चा सँग विदेशतिर छन्।' मलाई त्यो कुरा सुन्ने बित्तिकै नराम्रो लाग्यो र मैले चुनावको कुरा भन्दा पनि उहाँहरुको जीवनी कस्तो चलिरहेको छ भनेर सुरुमा सोध्न मन लाग्यो। मैले उहालाई प्रतिप्रश्न गर्दै सोधे बुवा अनि घरमा एक्लै हुनुहुदो रहेछ आमा पनि बुढी हुनुहोला, दुवैजना रोगी मान्छे एक्लै कसरी बसिरहुभएको छ त? खाना कसले बनाएर खान दिन्छ?
उहाँले आँखाभरि आँसु लिएर भन्नुभयो, "नानी अब के गर्नु छोराछोरी हुर्काएर ठूलो बनाइदिएपछि, आफू गर्नसक्ने भएपछि हामीलाई कहाँ हर्नेरहेछन् र । बिहे गरेपछि छोरा बुहारी दुवै अस्ट्रेलिया गएका उतै नातिनातिना जन्माएर बसेका छन्। आफ्ना नातिनातिना खेलाएर सबै परिवारसंग बस्ने रहर त कसको हुँदैन र । हाम्राे उमेर पनि बढ्दै गयो रहर गरेर नहुने रहेछ। जसो तसो बिहान बेलुका पकाएर खाएको छौं । खर्च छोराले विदेशबाट पठाइदिन्छ।"
त्यो कुराले मलाई निकै भावुक बनायो। म एकछिन रोकिए र भने के गर्नु बुवा गाउँघरको अहिलेको हालत सबै यस्तै छ। सबै युवाहरु की त सहर पस्छन् की त विदेश। गाउँमा बाँकी हुने भनेको त्यही बुढाबुढी नै हो रहेछ। त्यसपछि मैले फेरि भने, ' बुवा अब त्यसलाई भोट दिनुहोस् जसले लाखौं छोराछोरीलाई विदेशबाट नेपाल र सहरबाट गाउँ फर्काउँछ। अब पार्टीभन्दा माथि सोचेर जसले काम गर्छ जस्तो लाग्छ उसलाई भोट दिनुपर्छ। जसले हाम्रा युवाहरुलाई यही रोजगारी दिन सक्छ उसलाई जीताउनुपर्छ।' यो कुरा सुन्नेबित्तिकै बुवाको आँखा रसायो।
उहाले भावुक हुँदै भन्नुभयो, 'नानी सबै भोट माग्ने बेलामा मात्र हामि भएको ठाउँमा आउँछन्। माया गरेको जस्तो नाटक गर्छन्, ठूलो ठूलो विकासको सपना देखाउँछन्। त्यसपछि जितेर गएपछि त हामीलाई गन्दा पनि गन्दैनन्। भोट माग्नेबेलामा मीठा आशा देखाएर जान्छन् र चुनाव जितेपछि हाम्रो आस र भरोसालाई लात्ताले हान्छन्। जुन जोगी आएपनि कानै चिरेका। अब नयाँ भनेका हरुपनि त्यस्तै त होलान् नि। देशमै राम्रो रोजगारी भएको हुन्थ्यो भने मेरो छोरा पनि यही देशमा हुन्थ्यो होला। अब त बाचुन्जेल छोराको मुख देख्न पाइएला जस्तो छैन। '
त्यति भन्दैमा उहाको त्यो रसाएको आँखाबाट असारे झरी बगेझैं आँसु बग्न थाल्यो। कसैको दुःख देख्न नसक्ने म उहाँ रोएको देखेर मेरो आँखा कहिले भरियो पत्तै पाइन। त्यसपछि मैले उहालाई सम्झाउन थाले, 'बुवा के गर्नु नेता गतिला भएनन् भने सारा जनताले दुःख पाउदा रहेछन्। मेरो घरमा पनि ममी बाबा मात्र हुनुहुन्छ। म पनि गाउँमा अवसर नदेखेर शहर पसेको। देश छोड्न मन नलागेर शहरमै सकेको दुख गर्दैछु। अब चुनावमा उम्मेदवारको मीठा कुरामा फस्नु हुँदैन। अब हामीले प्रश्न गर्नुपर्छ। जो भोट माग्न आउँछन् उसलाई भविष्यको योजना के छ भनेर प्रस्ट सोध्नुपर्छ। बेरोजगारी हटाउन उहाँहरुको योजना के छ, देशमा विकास गर्ने मोडालिटी कस्तो छ सबै सोध्नुपर्छ। जसले राम्रो र विश्वासिलो योजना लिएर आएको छ भोट उसलाई दिने। नयाँ पुराना भन्दा पनि अब हाम्रो भोट योग्य व्यक्तिलाई जानुपर्छ। पुराना पार्टीमा पनि योग्य व्यक्ति छन्। नयाँ भन्दैमा सबै राम्रा पुराना सबै नराम्रा भन्ने पनि छैनन्। खासमा पार्टी नराम्रो हैन बुवा। नराम्रा त ती कार्यकर्ता हुन जसले हामिलाई वर्षौंदेखि आशा देखाएर हाम्रो सोझोपनको फाइदा उठाइरहेका छन्। अब जसको योजना राम्रो त्यसलाई दिनुपर्छ हाम्रो भोट।'
त्यसपछि बुवाले आफ्नो आँसु पुस्दै भन्नुभयो, ' हो नानी अब म त्यही गर्छु। पहिले हामीले उनिहरुको कुरा मात्र सुन्यौ। उनीहरूले म यति वर्षमा यो बाटो बनाउँछु, सबैलाई रोजगारी दिन्छु, देशमा नयाँ नयाँ विकास ल्याउँछु, सबैको घर घरमा सुविधा आफै आउँछ जस्ता कुराहरूले हामीलाई लोभ्याई रहे। अब हामीले यति गर्छु भन्नेलाई कसरी गर्छौं, तिमीहरूको योजना के छ भनेर सोध्नै पर्छ। गर्छु भन्न जसले पनि सक्छ, तर त्यसले मात्र गर्छ जसको पूर्वयोजना हुन्छ। अब म तिमीले भनेको कुराहरू गाउँमा गएर सबैलाई भन्छु। तिम्रो सोचाइ कति महान् नानी। यतिकै मान्छे शिक्षित हुनुपर्छ भनेर भनेका होइन रहेछन्। मेरो छोरा विदेशमै रमाइरहेको छ। मेरो छोरा मै सँग हुन्थ्यो भने यो देशको हालत देखेर मलाई यसरीनै सम्झाइरहेको हुन्थ्यो होला।'
यत्तिकैमा बस सितलबजार पुगेर रोकियो। सबै यात्रु खाना खान उत्रिय। मैले पनि चटपटे बनाउन लगाएर खाए। केहीबेरमा बस फेरी आफ्नो यात्रामा अगाडि बढ्यो। मेरो साइडको बुवा निदाउनुभयो। बेनिघाट कटेपछि कच्ची बाटो सुरुभयो। त्यस कच्चीबाटो हाम्रो यात्रा अगाडि बढिरह्यो। त्यसपछि दर्बुङ फाँट हुँदै ढाबे आइपुग्यो। म त्यहाँको दृश्य नीहाल्दै गइरहेको थिए। पहिले टोलभरीका मान्छे जम्मा भएर घाम ताप्दै बस्ने त्यो ठाउँ आज खालिखाली थियो। पहिले विभिन्न तरकारीहरू तथा तोरीहरु लगाएर हरियाली हुने खेतबारी अहिले सुखा र उजाड देखिएका थिए। हरेक गाउँमा बसाई सरेर जानेको संख्या बढेपछि धेरै घर र बारी रित्तिएका थिए। कुनै कुनै ठाउँमा मात्र केही हरियाली देखिएको थियो भने केही ठाउँमा बसाइसराई गरेर बाँकी भएका बुढा आमा बुवाहरु।
यो देखेरनै थाहा हुन्छ अहिले नेपालको स्थिति। गाउँमा युवा छैनन्, केही शहर त केही विदेश पसेका छन्। चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुस मसान्त सम्ममा मात्र ५ लाख ९० हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। जसले दैनिक ३ हजार भन्दा बढी नेपाली विदेशिएको प्रस्ट पर्दछ।
त्यसैगरी अहिले विभिन्न सेवा सुविधाको लागि बसाइसराई गरेर शहर पस्नेको संख्या पनि धेरै छ। जसमा मुख्य छन्: स्वास्थ्य, शिक्षा र रोजगारी। बढ्दो सहरीकरणले गाउँ रित्तिदै छ। यही अनुपातमा बसाइसराई हुने हो भने अबको केही वर्षमा गाउँमा मान्छे भेट्न मुश्किल हुन्छ। गाउँमा स्वास्थ्यचौकी छैन, भएपनि निकै टाढा धाएर जानुपर्ने अवस्था छ। गाउँमा राम्रो शिक्षा नपाएर पनि धेरै मान्छेले आफ्ना छोराछोरी पढाउन र आफू पढ्न शहर पस्ने गर्छन्। गाउँमा रोजगारी छैन। अलिअलि लगाएको खेतीबाली आफैलाई छाक टार्न धौधौ पर्छ। र कसैको धेरै भै हाल्यो भनेपनि बजारीकरण छैन। त्यो फलफूल तरकारी बालीनाली त्यतिकै खेर जाने अवस्था छ। गाउँमा खेतीपातीको लागि आधुनिक औजारहरू छैन। सरकारले केही मल सहयोग गरेजस्तो त गर्छ तर त्यो मल व्यापारीको गोदाममा गाएर थुप्रिने गर्छ र त्यस सरकारका कार्यकर्ताको मात्र भागमा पर्छ। किसानहरूले गरेको खेतीको उच्च मूल्य छैन। नेपालमानै उत्पादन भएका सामानहरुलाई बेवास्ता गरेर छिमेकी देश भारत बाट तरकारी फलफूल नेपाल भित्र्याइन्छ। यहाँ किसानहरू भने आफ्नो सामानको उचित मूल्य र बजारीकरण नपाएर आफ्नो उत्पादन नष्ट गर्नुपर्ने बाध्यता छ। नेपालका केही ठाउँमा अझैपनि बाटो पुगेको छैन। एक जिल्ला बाट अर्को जिल्लामा जानलाई पनि अरु देशको बाटो प्रयोग गरेर जानुपर्ने अवस्था छ। किसानलाई खेती गरेर खाने वातावरण छैन भने युवालाई लगानी गर्ने ठाउँ छैन। कृषिप्रधान देशमा कृषिको केही मूल्य छैन।
यही सोच्दा सोच्दै बस घैरूङ हुँदै खगी पुगीसकेछ। त्यहाँबाट मेरो गाउँ नाम्जुङ धेरै टाढा थिएन। त्यसै कारणले मैले आफ्नो झोलाहरू तयारी अवस्थामा राखे। लगभग ३ बजेको थियो, मेरो घर पनि आइपुग्यो र मैले त्यो बुवालाई राम्रो सँग जानुहोला भने र घरनेर उत्रिए । ममीले खाजा बनाएर मलाई कुरेर बस्नुभएको रहेछ भने बाबा घाँस काट्न बारितिर जानुभएको रहेछ। मैले खाजा खाँदै ममीलाई त्यो बुवाको बारेमा सबै भन्दै गए। ममीले पनि अहिलेको गाउँको अवस्था देखेर दुःख व्यक्त गर्नुभयो। त्यसपछि ममीले पनि त्यही प्रश्न गर्नुभयो, 'कान्छी भोट कसलाई दिने त?' र मेरो उत्तर त्यही रह्यो, ' जसले हाम्रो समस्या हल गर्ने योजना बनाएको छ त्यसलाई नै।' त्यो हजुरबुवा जस्तो लाखौं बुवाहरु हुनुहुन्छ जसले आफ्नो सन्तानलाई नचाहँदा नचाहँदै आफूबाट टाढा पठाउनुपरेको छ । गाउँमा अब बाँकी बुढाबुढी मात्र हुनलागेको छन्। यही कुराहरू म र मेरो मामीको बीचमा हुदैथियो।कुरा गर्दागर्दै बाबा पनि घाँस लिएर आइपुग्नुभयो। उहाँको पनि त्यही प्रश्न थियो र मेरो उत्तर पनि त्यही। अब पार्टीभन्दा माथि उठेर सोच्नेबेला आएको छ। अब नयाँ पुराना हैन, योग्य र अयोग्य चिन्ने दिन आएको छ।
- अञ्जना ढकाल
प्रतिक्रिया दिनुहोस