काठमाडौं, चैत १५ - नेपाली कांग्रेस ले समानुपातिकतर्फका सांसदहरूको कार्यसम्पादन सन्तोषजनक नभए उनीहरूलाई फिर्ता बोलाउन सक्ने व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चालन भइरहेको ‘संसदीय सचेतना कार्यक्रम’का क्रममा उपसभापति विश्वप्रकाश शर्मा ले यस्तो प्रावधानबारे जानकारी गराएका हुन् । उनले पार्टी विधानको दफा ४० उल्लेख गर्दै सांसदहरूको भूमिका प्रभावकारी र जवाफदेही बनाउन यो व्यवस्था गरिएको स्पष्ट पारे ।
संशोधित विधानअनुसार समानुपातिक सांसदहरूले पार्टीको निर्देशन, नीति तथा मूल्यमान्यताको पालना नगरेमा वा कार्यसम्पादन कमजोर देखिएमा पार्टीले आवश्यक ठानेको अवस्थामा उनीहरूलाई जुनसुकै बेला फिर्ता बोलाउन सक्नेछ ।
यस्तै, प्रचलित कानुन विपरीत गतिविधिमा संलग्न भएको ठहरिएमा समेत उक्त व्यवस्था लागू हुने जनाइएको छ । यसले सांसदहरूलाई थप जिम्मेवार र उत्तरदायी बनाउने विश्वास पार्टी नेतृत्वले व्यक्त गरेको छ ।
निर्वाचन आयोगबाट स्वीकृत उक्त प्रावधान कार्यान्वयनका लागि पार्टीले विस्तृत निर्देशिका तयार पार्ने तयारी गरेको छ । निर्देशिका बनाउँदा सांसदहरूको सुझाव समेत समेटिने उपसभापति शर्माले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस