काठमाडौं, जेठ ३ - नेपाली कांग्रेसका नेता गगन थापा ले संविधान संशोधनका विषयमा जेनजी अगुवासँग छलफल गर्ने भएका छन् । कांग्रेसले संविधान संशोधनसम्बन्धी सुझाव संकलनलाई तीव्र बनाइरहेका बेला आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा छलफल कार्यक्रम तय गरिएको हो ।
दिउँसो २ बजे हुने उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा सक्रिय १८ जना जेनजी प्रतिनिधिलाई आमन्त्रण गरिएको कांग्रेसले जनाएको छ । संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठित समितिको आयोजनामा हुने कार्यक्रममा संविधानविद् तथा प्राध्यापकहरूको पनि सहभागिता रहने बताइएको छ ।
कार्यक्रममा संविधानविद् तेजमान श्रेष्ठ तथा प्राध्यापक डा. खनाललगायत सहभागी हुने तयारी छ । युवापुस्ताको धारणा बुझेर संविधान संशोधनको बहसलाई अघि बढाउने उद्देश्यले छलफल आयोजना गरिएको कांग्रेसको भनाइ छ ।
कांग्रेसले संविधान संशोधनका लागि विभिन्न क्षेत्र र समुदायसँग राय सुझाव लिने अभियान चलाइरहेको छ । यसअघि संविधानविद्हरूसँग दुई चरणको छलफल गरिसकेको समितिले अहिले जेनजी अगुवासँग संवाद गर्न लागेको हो ।
उपसभापति पुष्पा भुसाल को संयोजकत्वमा गठन गरिएको कार्यदलले संविधान संशोधनसम्बन्धी सुझाव संकलनको काम गरिरहेको छ । समितिमा वरिष्ठ अधिवक्ता तथा कानुन व्यवसायीहरू समेत सदस्यका रूपमा रहेका छन् ।
यता, प्रधानमन्त्री बालेन्द्र शाह का राजनीतिक सल्लाहकार असिम शाह नेतृत्वको संविधान संशोधन बहसपत्र तयारी प्रक्रियामा भने कांग्रेस सहभागी भएको छैन । यसअघि असिम शाह नेतृत्वको टोलीले जेनजी अगुवालाई छलफलका लागि बोलाए पनि उनीहरूले उक्त कार्यक्रम बहिष्कार गरेका थिए
प्रतिक्रिया दिनुहोस