काठमाडौं, वैशाख ६ - वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब विद्यार्थीहरूले घरबाटै अनलाइनमार्फत प्राप्त गर्न सक्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको एनओसी शाखाले सम्पूर्ण प्रक्रिया डिजिटल बनाउँदै यो सेवा सुरु गरेको हो।
मन्त्रालयले त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयसँग एनओसी अनलाइन पोर्टलको एपीआई अन्तरआवद्धता पूरा गरेपछि विद्यार्थीलाई कार्यालय धाउनुपर्ने झन्झट हटेको हो। यसअघि वैशाख ४ गते त्रिविसँग सम्झौता गरिएको थियो भने केयूसँग भने यसअघि नै सहकार्य भइसकेको थियो।
नयाँ व्यवस्थाअनुसार विद्यार्थीहरूले घरमै बसेर आवेदन दिन सक्नेछन् र प्रक्रिया पूरा भएपछि आफ्नो एनओसी आफैंले डाउनलोड गरी प्रिन्ट गर्न सक्नेछन्। प्रमाणपत्रमा क्यूआर कोड समावेश गरिएकाले त्यसको सत्यता सजिलै जाँच गर्न सकिनेछ।
यसअघि स्नातकोत्तर वा सोभन्दा माथिल्लो तहमा अध्ययन गर्न जाने विद्यार्थीहरूले विश्वविद्यालयका प्रमाणपत्र प्रमाणीकरणका लागि अनिवार्य रूपमा कार्यालय पुग्नुपर्ने बाध्यता थियो। तर अब विश्वविद्यालय प्रणालीसँगको अन्तरआवद्धताले उक्त प्रक्रिया पनि पूर्ण रूपमा अनलाइनमै सम्भव भएको छ।
एनओसी आवेदनमा पेश गरिएका नागरिकता विवरण गृह मन्त्रालयको सिआइएमएस प्रणालीबाट र शैक्षिक विवरण राष्ट्रिय परीक्षा बोर्डको प्रणालीबाट स्वचालित रूपमा प्रमाणीकरण हुने व्यवस्था गरिएको छ। यसले प्रक्रिया थप सहज र छिटो बनाएको मन्त्रालयको भनाइ छ।
यस्तै, राजस्व भुक्तानी पनि महालेखा नियन्त्रण कार्यालयको रिमास प्रणालीमार्फत पूर्ण रूपमा अनलाइनबाटै हुने व्यवस्था मिलाइएको छ। एनओसी स्वीकृत भएपछि आवेदकले आफ्नो प्रोफाइलबाट पेपरलेस प्रमाणपत्र डाउनलोड गरी प्रयोग गर्न सक्नेछन्।
प्रतिक्रिया दिनुहोस