२२ बैशाख २०८३ मंगलबार | 05 May 2026 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सरकारप्रति हर्क साम्पाङको कडा प्रश्न : ‘काम गर्न नसक्ने हो भने मार्ग प्रशस्त गरौँ’



  • अञ्जना ढकाल
  • ७ घण्टा अघि
  • पाठक संख्या ४०
  • काठमाडौं, वैशाख २२ - प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको कार्यशैलीमाथि असन्तुष्टि जनाउँदै खुला पत्र सार्वजनिक गरेका छन्। उनले सरकारलाई ‘संसद छलेर चल्ने प्रवृत्ति’ अपनाएको आरोप लगाउँदै राष्ट्रिय सरोकारका विषयमा गम्भीर ध्यान दिन आग्रह गरेका छन्।

    साम्पाङले विशेषगरी सीमा सुरक्षाको विषय उठाउँदै लिपुलेक हुँदै भारतले कैलाश–मानसरोवर जाने सडक बनाइरहँदा सरकार मौन बसेको भन्दै प्रश्न गरेका छन्। उनले कूटनीतिक नोट मात्र पठाएर दायित्व पूरा भएको ठान्न नमिल्ने उल्लेख गर्दै नेपाल, भारत, चीन र संयुक्त राष्ट्र संघबीच चतुर्पक्षीय वार्तामार्फत समस्या समाधान गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

    उनले नेपाली सेनाको प्रयोगप्रति पनि आपत्ति जनाउँदै सेना मन्त्रीहरूको व्यक्तिगत काममा सीमित भएको आरोप लगाएका छन्। सिमानामा पर्याप्त सुरक्षा नहुँदा अतिक्रमण बढेको भन्दै सेनालाई सीमा सुरक्षामा केन्द्रित गर्नुपर्ने उनको माग छ।

    सुकुमबासी समस्याबारे बोल्दै उनले सरकार डोजर प्रयोग गरेर गरिबका बस्ती भत्काउनेतर्फ केन्द्रित भएको आरोप लगाए। उनले विपद् प्रभावित क्षेत्रहरू—विशेषगरी रोशी खोला आसपासका क्षेत्रमा सडक पुनर्निर्माण र उद्धार कार्यमा स्रोत परिचालन गर्न सुझाव दिएका छन्।

    अर्थतन्त्रको सन्दर्भमा साम्पाङले विदेशी ऋणको अत्यधिक प्रयोगले देशलाई जोखिमतर्फ धकेल्ने चेतावनी दिएका छन्। राज्य सञ्चालनमा सन्तुलन कायम गर्न नसक्ने हो भने सरकारलाई पद त्यागेर मार्ग प्रशस्त गर्नुपर्ने उनको भनाइ छ।

    साथै, बजेट निर्माण प्रक्रियामा सबै वर्ग र क्षेत्रका नागरिकका समस्या समेट्नुपर्ने उनले जोड दिएका छन्। सरकारका गतिविधिबारे नियमित रूपमा पत्रकार सम्मेलनमार्फत जनतालाई जानकारी गराउनुपर्ने माग पनि उनले राखेका छन्।