४ असार २०८३ बिहिबार | 18 Jun 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

इ–पासपोर्ट प्रकरण : अख्तियारको म्यादपछि आरजुले पठाइन् स्पष्टीकरणसहितको इमेल



  • अञ्जना ढकाल
  • २ घण्टा अघि
  • पाठक संख्या १८
  • काठमाडौं, असार ४ - इ–पासपोर्ट खरिद प्रक्रियासम्बन्धी अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले बयानका लागि म्याद तामेली गरेपछि पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाले आयोगलाई इमेलमार्फत जवाफ पठाएकी छन्।

    अख्तियार स्रोतका अनुसार राणा हाल उपचारका सिलसिलामा विदेशमा रहेकाले तत्काल उपस्थित हुन नसक्ने जानकारी इमेलमार्फत गराएकी हुन्। उनले अनुसन्धानमा सहयोग गर्न तयार रहेको जनाउँदै स्वास्थ्य अवस्थाका कारण अहिले नेपाल आउन नसकिने उल्लेख गरेकी बताइएको छ।

    इ–पासपोर्ट खरिद प्रकरणमा अनुसन्धान गरिरहेको अख्तियारले केही दिनअघि बूढानीलकण्ठस्थित निवासमा पुगेर तीन दिनभित्र बयानका लागि उपस्थित हुन म्याद तामेली गरेको थियो। सोही म्यादपछि राणाको नामबाट आयोगमा इमेल प्राप्त भएको स्रोतले जनाएको छ।

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणा लामो समयदेखि विदेशमा रहेका छन्। यसबीच अख्तियारले राहदानी खरिद प्रक्रियासम्बन्धी विभिन्न कागजात तथा उजुरीमाथि अनुसन्धान गरिरहेको छ।

    अनुसन्धानमा संलग्न स्रोतका अनुसार हालसम्म उपलब्ध कागजातमा तत्कालीन परराष्ट्रमन्त्री राणाको प्रत्यक्ष लिखित निर्देशन वा निर्णय फेला नपरेको बताइन्छ। तर ठेक्का प्रक्रियाको डिजाइन, प्याकेज निर्माण तथा ठेकेदार छनोटमा प्रभाव पारिएको भन्ने उजुरीका आधारमा अनुसन्धानको दायरा विस्तार गरिएको छ।

    उजुरीहरूमा आरजु राणा देउवासँगै उनका छोरा जयवीर देउवाको नाम पनि उल्लेख गरिएको छ। अख्तियारले यी दाबीहरूको सत्यता पुष्टि गर्न विभिन्न व्यक्ति, कागजात र प्रक्रियामाथि थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।