काठमाडौं, जेठ ६ - श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सरकार र संसदप्रति आक्रोश व्यक्त गर्दै आफ्नो विरोध अभियान पाँच वर्षसम्म निरन्तर रहने बताएका छन्। उनले आफूहरू निलम्बनको सामना गर्न पनि तयार रहेको स्पष्ट पारेका छन्।
प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा प्रदर्शन गर्दै विरोध जनाएपछि सभामुखले यस्ता गतिविधि नगर्न चेतावनी दिएका थिए। त्यसपछि बैठकबाट बाहिरिएर सञ्चारकर्मीहरूसँग कुरा गर्दै साम्पाङले विरोध रोक्ने कुनै योजना नभएको बताए।
उनले भने, “सरकार जिम्मेवार नबनेसम्म हामी पछि हट्दैनौँ। हाम्रो विरोध पाँच वर्षसम्म पनि जान सक्छ, हामी तयार छौँ।”
साम्पाङका अनुसार सुकुम्बासी समस्या, लिपुलेक विवाद, वैदेशिक ऋणलगायत विषयमा सरकारसँग निरन्तर प्रश्न गरिए पनि पर्याप्त जवाफ नपाएको आरोप छ। मन्त्रीहरू नियमित रूपमा सदनमा उपस्थित नभएको र दबाबपछि मात्र केही मन्त्री आउने गरेको उनको दाबी छ।
सभामुखले प्रश्न सोध्ने समय सीमित गरेकोप्रति असन्तुष्टि जनाउँदै उनले संसदीय मर्यादा र अधिकारबारे प्रश्न उठाए। “म संसदीय दलको नेता हुँ, मलाई दुई–तीन मिनेट भनेर समय तोक्न मिल्दैन,” उनले भने।
निलम्बनको सम्भावनाबारे सोधिएको प्रश्नमा साम्पाङले त्यसलाई स्वीकार गर्न तयार रहेको बताए। उनले भने, “जनताको मुद्दाका लागि निलम्बन भए पनि हामी तयार छौँ।”
उनले सभामुख सबै दलको साझा अभिभावक हुनुपर्ने उल्लेख गर्दै निष्पक्ष भूमिका अपेक्षा गरे। साथै, आफूहरूको प्रदर्शन शान्तिपूर्ण रहेको र पर्चा देखाउनु मात्र अभिव्यक्तिको माध्यम भएको दाबी गरे।
प्रतिक्रिया दिनुहोस