काठमाडौं - महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले स्थानीय विवाद निरूपणका लागि न्यायिक समितिसँगै मेलमिलापकर्ताको संयुक्त प्रयास हुनुपर्ने बताउनुभएको छ ।
महानगरपालिकाले न्यायिक निरूपणका लागि अवलम्बन गरेको अभ्यास र सिकाइ बुझ्न ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाबाट आएका न्यायिक समिति सदस्य र मेलमिलापकर्ताको टोलीसँग आफ्ना अभ्यासका बारेमा जानकारी गराउँदै उपमेयर डङ्गोलले यस्तो बताउनुभएको हो ।
उहाँले ठाउँ, भूगोल, सामाजिक तथा सांस्कृतिक अवस्थाअनुसार विवादका प्रकृति फरक हुन सक्ने भए पनि मेलमिलाप गराउने पद्धति साझा हुन सक्ने बताउनुभयो । उपमेयर डङ्गोलले वडामा विवाद दर्ता गर्ने प्रणाली, महिला सञ्जालमा मेलमिलापकर्ताबाट मेलमिलाप गराउने प्रणाली, निःशुल्क कानुनी सेवाको अभ्यास गरेको बताउनुभयो ।
भेटमा सिदिङ्वा गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कँडरियाले आफूहरूले पनि वडामै विवाद दर्ता गराउन चाहेको र यो सोचलाई महानगरको अभ्यासले सहयोग गरेको बताउनुभयो । महानगरको न्यायिक समिति सदस्य एवम् वडा नम्बर २९ का अध्यक्ष कुश ढकालले वडामै विवाद समाधान हुने गरेका कारण केन्द्र र जिल्ला अदालतमा कम मुद्दा पुग्ने गरेको बताउनु भएको छ आगामी दिनमा यस्तो अभ्यासले सकारात्मक परिणाम दिन सक्ने बिश्वास समेत जाहेर गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस