८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बिर्तामोड बसपार्क क्षेत्र गिरीबन्धु टी इस्टेट भित्र नभएको निष्कर्ष



  • सिमोन भट्टराई
  • ७ महिना अघि
  • पाठक संख्या ४२९
  • बिर्तामोड - झापाको अर्जुनधारा नगरपालिका–११ स्थित नयाँ बसपार्कको जग्गा सरकारी स्वामित्वमा नरहेको बताइएको छ । अर्जुनधारा नगरमा भएको छलफलले त्यस्तो निष्कर्ष निकालेको हो । कानुन व्यवसायी, सरोकारवाला, स्थानीय र सञ्चारकर्मीबीच भएको अन्तरक्रियाले बसपार्कको जग्गा सरकारी स्वामित्वमा नरहेको निचोड निकालेको हो ।

    करिब एक महिनाअघि गिरीबन्धु टी इस्टेटभित्र उक्त जग्गा रहेको भनी कानुनले व्याख्या गरेर वडा नम्बर ११ को (५१ बिघा जमिन) नयाँ बसपार्कका बासिन्दाहरुलाई त्रसित बनाइरहेको बेला त्यही विषयमा केही युट्युबर र मिडियाले समाचार लेखेपछि अर्जुनधारा नगरपालिकामा छलफलको आयोजना गरिएको थियो ।

     

    छलफल कार्यक्रममा बसपार्क समन्वय समितिका अध्यक्ष सुजन शिवाकोटीले तथ्य कुरा अर्कै भए पनि केही मिडियाहरुले बसपार्कबासीहरुलाई आतंकित बनाइदिएको भन्दै समाधानको बाटोमा जान नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ र उपप्रमुख खड्गमाया पराजुलीलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए ।

    बसपार्क समन्वय समितिका सहसचिव शिव पौडेलले ११४३ कित्ताभित्र चार सयभन्दा बढी घर बनिसकेको र केही व्यावसायिक कर्जा र शैक्षिक कर्जा लिएर प्रगति गर्ने बेलामा गिरीबन्धु टि इस्टेटको जग्गाको विषयमा बसपार्कलाई जोडेर गरेको हल्लाले बसपार्कबासीहरुलाई मर्कामा पारेको उल्लेख छ ।

    कार्यक्रममा वरिष्ठ अधिवक्ता टंक उप्रेतीले अदालतले जारी गरेको निर्णय पत्रमा बसपार्कलाई छोएको पाइँदैन तथापि यथार्थमा पुग्न नगरले सम्बन्धित निकाय र यसै क्षेत्रका सांसद तथा सभामुख देवराज घिमिरेमार्फत प्रस्ट्याउन आवश्यक भएको बताए । नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, सभामुख घिमिरेका स्वकीय सचिव केशव ढुंगेललगायतले उक्त विषयमा आआफ्ना धारणा राखेका थिए ।

    नगरप्रमुख गोम्देनले मालपोत कार्यालय झापाका प्रमुख शेरबहादुर भण्डारीसँग फोन सम्पर्क गर्दा प्रमुख भण्डारीले सहजताका लागि आफू तयार रहेको बताएको नगरप्रमुखले जानकारी दिएका थिए ।