२० असोज २०८२ सोमबार | 06 Oct 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मेस्सीको घरेलु मैदानमा सम्भावित अन्तिम विश्वकप छनोट खेल



  • क्वालिटी खबर
  • १ महिना अघि
  • पाठक संख्या १७२
  • काठमाडौं, भदौ १३ – अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आगामी भदौ १९ गते ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा भेनेजुएलाविरुद्ध हुने विश्वकप छनोट खेल खेल्दै छन्।

    ३८ वर्षीय मेस्सीका लागि यो खेल विशेष मानिएको छ, किनभने यो उनको घरेलु मैदानमा हुने अन्तिम अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुन सक्ने अनुमान गरिएको छ। अर्जेन्टिना पहिले नै २०२६ विश्वकपमा स्थान सुरक्षित गरिसकेकाले नतिजाभन्दा बढी यस खेलको भावनात्मक महत्वलाई जोड दिइएको छ।

    मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट छिट्टै विदाइ लिने संकेत गर्दै यस खेललाई “अत्यन्त विशेष क्षण” को रूपमा वर्णन गरेका छन्। उनले भनेका छन्, “भेनेजुएलापछि मैत्रीपूर्ण वा अन्य खेल यहाँ हुने–नहुने निश्चित छैन। तर यो खेल विशेष हुनेछ र मेरो परिवार सबै उपस्थित हुनेछन्।”

    उनको भनाइले यो प्रतिस्पर्धालाई घरेलु मैदानमै उनको सम्भावित अन्तिम उपस्थितिको रूपमा लिइएको छ। मेस्सीका परिवारका सदस्यदेखि पत्नी, छोराछोरी, आमाबाबु र दाजुभाइ–बहिनी सबै स्टेडियममा रहने तयारीमा छन्।

    दक्षिण अमेरिकी फुटबल महासंघले ‘द लास्ट डान्स इज कमिङ’ भन्ने नारासहित मेस्सीको तस्वीर सार्वजनिक गरेको छ भने अर्जेन्टिनी फुटबल संघले टिकट मूल्य १०० देखि ५०० अमेरिकी डलरसम्म तोकेको छ।

    अर्जेन्टिनाको तर्फबाट विश्वकप उपाधि दिलाइसकेका मेस्सीको सम्भावित अन्तिम घरेलु खेल हेर्न विश्वभरका समर्थकको नजर मोनुमेन्टल स्टेडियममा केन्द्रित हुने निश्चित छ।