२६ साउन २०८२ सोमबार | 11 Aug 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पुनः रिहाकाे प्रयासमा रवि लामिछाने, अदालतमा नयाँ निवेदन



  • अञ्जना ढकाल
  • ४ दिन अघि
  • पाठक संख्या ७७
  • रुपन्देही, साउन २२— सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन्।

    उक्त निवेदनमा लामिछानेले राजनीतिक प्रतिशोधको सिकार बनाइएको दाबी गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा हुन पाउने कानुनी अधिकार प्रयोग गर्न माग गरेका छन्।

    उनका अनुसार, ठगी प्रकरणमा आफू संलग्न नरहेको र आफ्नो नाममा लागेको बिगो रकम बैंक जमानतमा राखेर छुट्न पाउनुपर्ने हो।

    १९ साउनमा निवेदन दर्ता भए पनि अदालतले सो विषय तत्काल सार्वजनिक नगरी तीन दिनसम्म गोप्य राखेको थियो। पार्टीका जिल्ला सभापति डा. बुद्धिप्रसाद शर्माले समेत चार दिनपछि मात्रै यसबारे जानकारी पाएको बताएका छन्।

    लामिछाने चैत २५ गतेदेखि रुपन्देही कारागारमा थुनामा छन्। उनले काठमाडौं कारागारमा सरुवा माग गरे पनि गृह मन्त्रालयले अनुमति दिएको छैन।

    यसअघि रुपन्देही जिल्ला अदालतले उनलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर, उच्च अदालतले सो आदेश उल्ट्याउँदै उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।

    लामिछानेले यसअघि पनि ८४ दिन हिरासतमा बिताएका थिए भने त्यसपछि २५ दिनमात्रै कारागारबाहिर रहेका थिए।