१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

डेंगुको संक्रमण तीव्र रूपमा, यसका लक्षण र बच्ने उपाय केके हुन् ?

यस वर्ष नेपालका ७६ जिल्लामा डेंगु संक्रमण पुष्टि भएको छ, र अहिलेसम्म १२,६०० भन्दा बढी व्यक्ति अस्पताल भर्ना भएका छन्।



Dengue
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १९५
  • मनसुनी मौसमपछि डेंगुको संक्रमण तीव्र रूपमा फैलिरहेको छ। यस वर्ष नेपालका ७६ जिल्लामा डेंगु संक्रमण पुष्टि भएको छ, र अहिलेसम्म १२,६०० भन्दा बढी व्यक्ति अस्पताल भर्ना भएका छन्। विशेष गरी असारदेखि असोजसम्मको मौसम डेंगु फैलाउने लामखुट्टेहरूको प्रजननको लागि अनुकूल हुने भएकाले यो अवधिमा संक्रमण बढी हुने गरेको हो।

    चितवन जिल्लामा मात्रै हालसम्म १,४९२ डेंगुका केसहरू रिपोर्ट भएका छन्, जसमा केही व्यक्तिको मृत्यु पनि भएको छ। यस अवस्थामा, सरकार र स्वास्थ्य निकायहरूले थप संक्रमण रोक्न सावधानी अपनाउन सुझाव दिएका छन्।

    डेंगुका लक्षणहरू उच्च ज्वरो आउने, गम्भीर टाउको दुखाइ, जोर्नी र मांसपेशीको दुखाइ, आँखा वरिपरि दुखाइ, छालामा रातो बिमिरा देखा पर्ने, थकान महसुस हुने, रक्तश्राव हुने र गम्भीर अवस्थामा नाक वा गिजाबाट रगत बग्ने, पेट दुख्ने, वाकवाकी र बान्ता हुने आदि हुन्।

    डेंगुको संक्रमणबाट जोगिनका लागि विशेषज्ञहरूले लामखुट्टे नियन्त्रणका उपायहरूलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन्। डेंगु फैलाउने लामखुट्टेहरू सफा र स्थिर पानीमा प्रजनन गर्ने भएकाले घर वरिपरिका पानी जम्ने स्थानहरू हटाउनुपर्ने बताइएको छ। पानीका ट्यांकी, टायर, फूलदानलगायत स्थानहरूमा पानी जम्न नदिन र सधैं सफा राख्नुपर्ने जनाइएको छ।

    डेंगुको जोखिमबाट जोगिनका लागि लामो बाहुला भएको कपडा लगाउने, मच्छरदानी प्रयोग गर्ने तथा लामखुट्टे भगाउने क्रीम र साधनहरूको प्रयोग गर्नुपर्ने सुझावसमेत दिइएको छ। साथै, घरका झ्याल र ढोकामा जाली राखेर लामखुट्टेको प्रवेशलाई रोक्न पनि महत्त्वपूर्ण हुने जनाइएको छ।

    स्वास्थ्य विज्ञहरूले लामखुट्टे नियन्त्रणका उपायहरूमा सरसफाइको विशेष ध्यान दिनुपर्ने र स्थानीय तहका अभियानहरूमा सक्रिय सहभागिता जनाउनुपर्नेमा जोड दिएका छन्। यसका साथै, डेंगुका लक्षणहरूबारे जनचेतना अभिवृद्धि गर्दै संक्रमणबाट जोगिनका लागि सचेतना अपनाउन आवश्यक रहेको उनीहरूले बताएका छन्