२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जलवायु परिवर्तनले किसानलाई वैदेशिक रोजगारमा धकेल्दै

जलवायु परिवर्तनका कारण नेपालमा कृषि पेसा संकटमा परेको एक अनुसन्धानले देखाएको छ ।



Baideshik Rojgar
  • क्वालिटी खबर
  • ७ महिना अघि
  • पाठक संख्या १८०
  • काठमाडौं- जलवायु परिवर्तनका कारण नेपालमा कृषि पेसा संकटमा परेको एक अनुसन्धानले देखाएको छ । त्रिभुवन विश्वविद्यालय, भूगोल केन्द्रीय विभागका प्रा.डा. प्रेमसागर चापागाईंको नेतृत्वमा गरिएको अनुसन्धानले जलवायु परिवर्तनले कृषिमा नकारात्मक प्रभाव पार्दै किसानलाई वैदेशिक रोजगारतर्फ धकेलिरहेको निष्कर्ष निकालेको छ।

    तीन वर्षको अध्ययनमा तापक्रममा वृद्धि, वर्षाको ढाँचामा परिवर्तन, खडेरी, बाढी र पहिरोजस्ता विपद्का घटनाहरूले कृषि उत्पादनमा नकारात्मक असर गरेको पाइएको छ । बाली लगाउने समय पछाडि सर्दै जाँदा बीउ छर्ने, उम्रिने, फुल्ने र फल लाग्ने प्रक्रियामा अवरोध आउँदा उत्पादनमा कमी आएको छ ।

    भारत, बंगलादेश र चीनका विश्वविद्यालयहरूसँग मिलेर गरिएको यस अध्ययनमा भारत र बंगलादेशमा बाढी तथा डुबानका कारण जमिनको नाश र ठूलो संख्यामा घरपरिवार विस्थापित भएको पाइएको छ । बंगलादेशमा नदीको गहिराइ घट्दा माछाको प्रजाति र उत्पादन दुवैमा गिरावट आएको र मत्स्य व्यवसाय संकटमा परेको प्रतिवेदनले औँल्याएको छ ।

    नेपालका उच्च पहाडी र हिमाली क्षेत्रमा स्याउ र अन्न उत्पादनमा वृद्धि भए पनि सीमित सिँचाइ सुविधा र खेतीयोग्य जमिनको कमीले यो लाभ व्यापक हुन नसकेको बताइएको छ ।

    रसुवा, नुवाकोट, चितवन, तनहुँ र कास्कीका २११ घरधुरीमा गरिएको नमुना अध्ययनमा ३० वर्षमा तापक्रममा वृद्धि भएको र वर्षा घटेको पाइएको छ । तापक्रम वृद्धि दर तराईमा ०.००४२, पहाडमा ०.०९२१ र हिमालमा ०.०२५४ डिग्री सेन्टिग्रेड रहेको छ भने वार्षिक वर्षा क्रमशः ५.०२, ९.३९ र १३.१२ मिलिमिटर घटेको देखिएको छ ।

    जलवायु परिवर्तनसँगै आन्तरिक तथा बाह्य बसाइँ सर्ने क्रम बढेको र किसानहरूले मौसम सम्बन्धी सूचनामाथि विश्वास नगर्ने प्रवृत्ति देखिएको छ । तराईमा ३४ प्रतिशत, पहाडमा २२ प्रतिशत र हिमालमा ८.५ प्रतिशत किसानले मात्र यस्ता सूचनामा विश्वास गर्ने गरेको पाइएको छ ।