२८ साउन २०८३ बिहिबार | 13 Aug 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सरकारले 'सगरमाथा वृक्षरोपण महाअभियान' सुरु गर्ने, प्रत्येक वर्ष एक महिना वृक्षरोपण गरिने

सरकारको हालै सम्पन्न मन्त्रिपरिषद् बैठकले २० वर्षसम्म वृक्षरोपण अभियान चलाउने निर्णय गरेको हो।



  • क्वालिटी खबर
  • १ बर्ष अघि
  • पाठक संख्या ४११
  • काठमाडौँ, असार १३ - वातावरण संरक्षण र जलवायु संकट न्यूनीकरणको दीर्घकालीन लक्ष्यसहित सरकारले प्रत्येक वर्ष एक महिने वृक्षरोपण अभियान सञ्चालन गर्ने भएको छ।

    वन तथा वातावरण मन्त्रालयका अनुसार ‘सगरमाथा वृक्षरोपण महाअभियान’ नाम दिइएको यो अभियान सन् २०२५ देखि सन् २०४५ सम्म हरेक वर्ष असार १४ देखि साउन १५ सम्म सञ्चालन गरिनेछ।

    सरकारको हालै सम्पन्न मन्त्रिपरिषद् बैठकले २० वर्षसम्म वृक्षरोपण अभियान चलाउने निर्णय गरेको हो। यो अभियानले कार्बन उत्सर्जन न्यूनीकरण, वातावरणीय पुनःस्थापना, जैविक विविधता प्रवर्द्धन, र हिमालय तथा त्यसको जलाधार क्षेत्रको संरक्षण गर्ने लक्ष्य लिएको छ।

    भर्खरै सम्पन्न ‘सगरमाथा संवाद २०२५’ मा जलवायु संकटका विषयमा विश्वको ध्यानाकर्षण गराउँदै नेपालले ‘हिमालय जोगाऔँ’ भन्ने आह्वान गरेको थियो। यही संवादलाई आधार मानेर सरकारले हिमालय संरक्षणको दीर्घकालीन प्रयासस्वरूप वृक्षरोपण महाअभियानको थालनी गर्न लागेको हो।

    आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमा समेत सरकारद्वारा सामुदायिक वन, राजमार्ग र खोला किनार, विद्यालय, कार्यालय प्राङ्गण तथा सार्वजनिक र निजी जग्गामा फलफूल, जडीबुटी र बहुमूल्य वनस्पतिको वृक्षरोपणमा नागरिकलाई प्रोत्साहन गर्ने उल्लेख गरिएको छ।

    यो अभियानलाई राष्ट्रिय पर्वका रूपमा मनाउने गरी संघ, प्रदेश र स्थानीय सरकारहरूको सक्रिय सहभागिता रहनेछ। साथै, विभिन्न संघसंस्थाहरूलाई पनि अभियानमा सहभागी हुन आह्वान गरिएको छ।

    मन्त्रालयले वृक्षरोपणलाई आफ्ना पूर्वजहरूको सम्झना र भावी पुस्ताको सुरक्षित भविष्यका लागि आवश्यक कर्मका रूपमा लिन आग्रह गरेको छ।