२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सुप्रिम सहकारी ठगी प्रकरण : आज रविका वकिलले बहस गर्दै

रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस जारी रहने भएको छ।



  • अञ्जना ढकाल
  • ८ महिना अघि
  • पाठक संख्या १६३
  • रुपन्देही - माघ ११ बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस जारी रहने भएको छ।

    यो प्रकरणको सुनुवाइ रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबारदेखि भइरहेको छ। बिहीबार थुनछेक मुद्दामा सरकारी वकिलको तर्फबाट बहस सकिएको थियो भने पीडित पक्षका दुई वकिलको बहस बाँकीनै रहेको श्रेस्तेदार गोविन्द ज्ञवालीले जानकारी दिए।

    रवि लामिछानेलाई शुक्रबार बिहान १०ः३० बजे अदालतमा उपस्थित गराउने सर्तमा परिवारको जिम्मा लगाइएको थियो। सरकारी वकिलको तर्फबाट जिल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेलसहित गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका छन्।

    त्यस्तै, उच्च सरकारी वकिल कार्यालय बुटवलका सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपानेले पनि बहस गरेका थिए। आजको बहसमा सुरुमा जाहेरवालातर्फका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता आर्सी गौतमले आफ्नो तर्क प्रस्तुत गर्नेछन्। त्यसपछि रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तसहितका अधिवक्ताले बहस गर्नेछन्।

    रवि लामिछानेका अधिवक्ताको बहस सकिएपछि सरकारी वकिल र जाहेरवालातर्फका वकिलले जवाफी बहस गर्नेछन्। त्यसपछि न्यायाधीश प्रल्हादकुमार योगीले थुनछेक आदेशमार्फत रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारिखमा रिहा गर्ने निर्णय सुनाउनेछन्।