८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

फिल्म 'पहिचान' निर्माणको तयारी: धिरेन शाक्यको कमब्याक र जातीय पहिचानको कथा

लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा योगदान दिइरहेका भिम लामाको निर्देशनमा नयाँ फिल्म ‘पहिचान’ निर्माण हुने भएको छ।



  • प्रबिन कुवँर
  • ४ महिना अघि
  • पाठक संख्या १३०
  • इटहरी, माघ ११ - कोशी प्रदेशको इटहरीलाई कर्मथलो बनाएर लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा योगदान दिइरहेका भिम लामाको निर्देशनमा नयाँ फिल्म ‘पहिचान’ निर्माण हुने भएको छ।

    लामाका अनुसार यही फिल्मबाट एक समयका लोकप्रिय अभिनेता धिरेन शाक्यले नेपाली फिल्ममा कमब्याक गर्ने भएका छन् । उनलाई केही साताअघि लामाले कागजी सम्झौता गरिसकेका छन् । यसअघि उनले वरिष्ठ अभिनेता प्रेम सुब्बालाई समेत प्रमुख भूमिकाको लागि कागजी सम्झौता गरिसकेका छन् ।

    फिल्ममा नृत्य निर्देशकको रुपमा मणि कुमार लिम्बु र सानुराजा थेगिम लिम्बु लाई अनुबन्ध गरेका छन् । यस्तै यही फिल्मका लागि निर्देशक लामाले चर्चित खलनायक तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पनि हालै अनुबन्ध गरेका छन् । अन्य कलाकारहरुलाई समेत निरन्तर अनुबन्ध गर्दै जाने निर्देशक लामाको योजना रहेको छ भने प्रमुख अभिनेत्रीको लागि करिश्मा मानन्धर र प्रियंका कार्की मध्य एक रहने उनको भनाई छ । फिल्मका लागि यी २ सँग निरन्तर कुरा भइरहेको लामाले बताए ।

    नेपाली समाजमा जातीय पहिचानको महत्त्वपूर्ण विषयवस्तु उठान गर्दै ‘पहिचान’ निर्माण गर्न लागेका भिम लामाले यसअघि स्थानीय तामाङ जातिको संस्कृति र परम्परालाई समेटेर ‘लीलामे माइला’ निर्देशन गरेका थिए । यस्तै, उनले २०६६ सालमा ‘माटो’ निर्माण गरेका थिए, जसमा महानायक राजेश हमालको अभिनय रहेको थियो । साथै, ‘नासो’, ‘गोल’ र ‘फेक फ्रेण्ड’जस्ता फिल्म लामाले यसअघि निर्माण तथा निर्देशन गरिसकेका छन् ।

    १ करोड लागत लाग्ने यो फिल्म पहिचानलाई फागुन १८ गतेबाट कोशी प्रदेशको विभीन्न रमणीय स्थानमा छायाँङ्कन गरिने लामाको योजना रहेको छ । यो फिल्ममा रोशन शर्मा, नव नायिका जेनी घिसिङ र शर्मिला राईको समेत अभिनय रहने छ ।

    फिल्मको निर्माण टोलीमा भिम लामासहित रामजी विष्ट, छिरिङ लामा र उमेश तामाङ (रोमियो लामा) रहेका छन् । निर्देशक लामाका अनुसार फिल्मले जातीय पहिचानका विविध पक्षहरू उजागर गर्दै समाजमा सकारात्मक सन्देश दिने लक्ष्य राखेको छ ।