२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विप्लवको जुम्लामा स्याउ रोपन कार्यक्रमको उद्घाटन, कृषि क्रान्तिमा जोडियो ध्यान

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ ले जुम्लामा स्याउ रोपन कार्यक्रमको उद्घाटन गरेका छन्।



  • अञ्जना ढकाल
  • ७ महिना अघि
  • पाठक संख्या १९५
  • काठमाडौँ, फागुन ११ - नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ ले जुम्लामा स्याउ रोपन कार्यक्रमको उद्घाटन गरेका छन्। नेकपाको केन्द्रीय कार्यालयको आयोजनामा आइतबार जुम्लाको हिमा गाउँपालिका ७, धौलापानीमा करिब १४ हजार वर्गमिटर जमिनमा ३,५०० बिरुवाको स्याउ रोपेर उद्घाटन गरिएको हो।

    कार्यक्रमको उद्घाटन गर्दै विप्लवले भने, "राजनीतिक क्रान्तिसँगै आर्थिक क्रान्तिलाई नजोडेसम्म देशको स्वाधीनता र आत्मनिर्भरता सम्भव छैन।" उनले नेता र कार्यकर्तालाई कृषि उत्पादनमा जोड्ने र त्यसपछि जनतालाई कृषि क्रान्तिमा समेटी देशलाई आत्मनिर्भर बनाउन योजना रहेको उल्लेख गरे।

    विप्लवले हावापानी र मौसमअनुसारको फलफूल र बालीनाली उत्पादन गरिरहेको भन्दै भने, "अहिले हाम्रा नेता कार्यकर्तालाई देशभर खानको लागि कहिँ कतै माग्नुपर्ने अवस्था छैन, देशभर सबै नेता कार्यकर्ता उत्पादनमा लागेका छौँ।"

    महासचिव विप्लवले स्याउ रोप्नका लागि जग्गा उपलब्ध गराउने हिमा गाउँपालिका ७ का कृष्ण कौडा शाहीलाई विशेष धन्यवाद दिएका छन्। उनले भने, "उहाँ शहीद परिवार हुनुहुन्छ र उहाँले हामीलाई जग्गा उपलब्ध गराउनुभयो, त्यसका लागि विशेष धन्यवाद छ।"

    धौलापानीमा स्याउ रोपेर भोलि, १२ गते बिहान कालिकोटको तिलागुफा नगरपालिका फोहिईमा स्याउ रोप्न जाने कार्यक्रम रहेको विप्लवका प्रचार विभाग सदस्य प्रकाश डुम्रेले जानकारी दिएका छन्।

    biplab4