आज मेरो देश रोइरहेको छ। मेरो देश सँगै ३ करोड नेपाली पनि।
हो मेरो देश सँगै सबै नेपाली रोइरहेका छन्। हाम्रा दाजुभाइ दिदीबहिनीलाई बाध्य भएर विदेशिएको देख्दा हामी हरेक दिन रुने गर्छौं। गाउँघर सुनसान भएका छन्, बुढाबुढीहरू एक्लो हुँदै छन्, अनि बालबालिकाहरू अभिभावकविहीन। रेमिट्यान्सले धानेको देश नेपालमा वैदेशिक रोजगारी अब रोजाइको विषय होइन, बाध्यता बन्न पुगेको छ।
उच्च शिक्षा हाँसिल गरेर पनि देशमा रोजगारी नपाएको कारण मेरो देशको सिर झुकेको छ। गौरवको साथ हामी वीर गोर्खालीको छोराछोरी हौं भनेर हिँड्नु पर्ने ठाउँमा आफ्नै देशमा केही गरौं भन्ने वातावरण सिर्जना नभएको देखेर मेरो देश स्तब्ध भएको छ। बेरोजगारी कामको अभाव मात्र नभएर राज्यको दीर्घकालीन नीतिगत कमजोरीको परिणाम हो। रोजगारमुखी शिक्षा, प्रभावकारी सीप कार्यक्रम र निजी क्षेत्रको विस्तार नभएकाले समस्या जटिल बनेको छ। अझै भन्दा खेरी सत्तामा स्वार्थ, पहुँच र भागबण्डा हावी भएको कारणले योग्य प्रतिभा छायामा परेको छ।
मेरा देशका जनताहरू स्वतन्त्र, शिक्षित र स्वरोजगारी हुन्छन् भनेर हाम्रा लागि लडेर शहीद हुनेहरू पनि अहिले हामीलाई हेरेर रोइरहेका छन्। मेरो देश रुनुको अर्को कारण पनि छ त्यो हो नेपाली नेपाली बीचको युद्द। आज राजतन्त्र र लोकतन्त्रको पक्षमा विभाजित नेपालीहरू एक–अर्काविरुद्ध लडिरहेका छन्। देशलाई लुट्नेहरू भने शान्तसँग माथि बसेर हामीबीचको झगडाबाट फाइदा उठाइरहेका छन्।
हामी राजा आएर देश बन्छ भनेर राजा ल्याउन तर्फ लाग्ने की देशका अराजक र दमनकारी गतिविधि गर्ने नेता भनौदाहरुलाई हटाउन तर्फ लाग्ने भन्ने हामीले सोच्न सकिरहेका छैनौं। हाल मेरो देशलाई राजा भन्दा पनि असल शासन चाहिएको छ। हामीलाई असल जनप्रतिनिधि चाहिएको छ।
आज हामी फेरि त्यही बहसमा फर्किएका छौं—राजा ल्याउने कि लोकतन्त्रलाई सुधार गर्ने? धेरैलाई लाग्छ, राजा आए देश सुध्रिन्छ। तर के समस्या व्यक्तिमा छ त? कि प्रणालीमा? लोकतन्त्रको नाममा अभ्यास गरिएको भ्रष्ट र दमनकारी प्रवृत्तिले जनताको मन वाक्क बनाएको हो। तर यसको समाधान राजतन्त्रको पुनरागमन कदापि होइन, यसको समाधान त उत्तरदायी लोकतन्त्रको स्थापनामा छ।
हामीलाई राजा होइन, एकजना जनताको भावना बुझ्ने, सत्यनिष्ठ र सक्षम नेतृत्व चाहिएको हो। निष्ठा, उत्तरदायित्व र पारदर्शिता—यी मूल्यमान्यता जसको अभावले आजको राजनीतिक व्यवस्था असफल भएको छ। जनप्रतिनिधिहरू भाषणमा मात्र सीमित छन्, तर काममा निकै नै कमजोर देखिन्छन्। यही कारणले गर्दा जनताहरू असन्तुष्ट छन्, अन्योलमा छन्।
– अञ्जना ढकाल
प्रतिक्रिया दिनुहोस