काठमाडौं, चैत ३१ – ९ लाख रुपैयाँ नगद र चेकसहित हुण्डी कारोबार गरेको आरोपमा एक युवती पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा गोरखा जिल्लाको पालुङटार नगरपालिका–१० बागडाँडा निवासी १९ वर्षीया करिना देवकोटा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले जानकारी दिए।
प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२२ न्यूरोड क्षेत्रबाट उनलाई पक्राउ गरेको हो। सो क्षेत्रबाट हुण्डी कारोबार भइरहेको सूचनाको आधारमा खटिएको टोलीले देवकोटालाई नियन्त्रणमा लिएको हो।
उनको साथबाट ९ लाख रुपैयाँ नगद र ६ लाख रुपैयाँ बराबरको चेक बरामद गरिएको प्रहरीले जनाएको छ।
उनविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान अघि बढाइएको छ।
प्रतिक्रिया दिनुहोस