काठमाडौं, वैशाख २१ - थर्क सेन स्याङ्जामा जन्मिएर बेलायतलाई आफ्नो कर्मथलो बनाउँदै आएका एक सफल गैरआवासीय नेपाली हुन्। ‘बेलायती लाउरे’ भई काम गरेका सेन अहिले नेपाल र नेपाली प्रतिको अपार माया र समर्पणका कारण एनआरएनएको अध्यक्ष पदमा उम्मेदवार बनेका हुन्।
विदेशमा रहेर पनि नेपालको समृद्धि, पहिचान र अधिकारका पक्षमा निरन्तर लागिपरेका सेनले अब नेतृत्वदायी भूमिकामा रहेर अझ प्रभावकारी रूपमा योगदान पुर्याउने उद्देश्य राखेका छन्।
उनले दोहोरो नागरिकता, प्रवासी नेपालीको अधिकार, सीप र पुँजीको सदुपयोगजस्ता महत्त्वपूर्ण मुद्दालाई प्राथमिकतामा राख्दै एनआरएनएलाई विश्वभरका नेपालीहरूको साझा घर बनाउने अठोट लिएका छन्।
उनका पाँच प्रमुख प्रतिबद्धता यस प्रकार छन्:
१. सम्पूर्ण एनआरएनए, सबैको साझा घर
एनआरएनएलाई भौगोलिक, राजनीतिक र व्यक्तिगत विभाजनभन्दा माथि उठाई एकीकृत, पारदर्शी र सहभागी संगठन बनाउने सेनको दृढ संकल्प छ।
२. नागरिकताको निरन्तरताका लागि संघर्ष
"नागरिकता मात्र होइन, अस्तित्व र योगदानको मान्यता हो" भन्ने सन्देशसहित उनले दोहोरो नागरिकताको पक्षमा आवाज उठाउँदै 'Make NRNA & Nepal Great Again' नारालाई अघि बढाएका छन्।
३. सीप, ज्ञान र सम्पत्तिको नेपाल विकासमा प्रयोग
‘Let’s Build Better Motherland’ अभियानअन्तर्गत एनआरएनहरूबाट संचित ज्ञान, सीप र पुँजीलाई नेपालको विकासमा लगानी गर्ने रणनीति तयार पारिएको छ।
४. समस्या होइन, समाधानमुखी नेतृत्व
गुनासोभन्दा समाधान दिने नेताका रूपमा आफूलाई चिनाउँदै सेनले सम्पूर्ण एनआरएनए सदस्यहरूको समस्या समाधानमा केन्द्रित हुने बताएका छन्।
५. विश्वसनीय र परिणाममुखी नेतृत्व
“भोट माग्न होइन, भविष्य बनाउन आएको हुँ” भन्ने भनाइसहित उनी चुनावी मैदानमा उत्रिएका छन्। उनका सबै प्रतिबद्धता व्यवहारमा आधारित र सिद्धान्तमा स्पष्ट रहेको बताइएको छ।
थर्क सेन एनआरएनए मात्र होइन, नेपाल र विश्वभरका नेपालीहरूको साझा आशा र नेतृत्वका रूपमा उदाउँदै छन्। आगामी कार्यकालमा नेतृत्वको अवसर पाएमा एनआरएनएलाई नयाँ युगमा प्रवेश गराउने उनको दाबी छ।
प्रतिक्रिया दिनुहोस