२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रिम्दीकोट गाउँपालिकाद्वारा नेकपाको जनकम्युनलाई अकबरे खुर्सानीको बेर्ना हस्तान्तरण

जनकम्युनले ५ बिघा क्षेत्रफलमा अकबरे खुर्सानी खेतीको तयारी गरिरहेको छ भने हाल २ बिघा क्षेत्रमा लगाइसकेको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ३६५
  • पाल्पा, वैशाख २६ - रिब्दीकोट गाउँपालिका, पाल्पाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) द्वारा सञ्चालित जनकम्युनलाई करिब १० हजार अकबरे खुर्सानीको बेर्ना हस्तान्तरण गरेको छ। गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले जनकम्युनको खेतमा पुगेर सो सहयोग हस्तान्तरण गरेका हुन्।

    गाउँपालिकाका अध्यक्ष कार्की र प्रशासकीय सचिव मणि खनाल शीतगंगा नगरपालिका–११ स्थित जनकम्युन पुगेका थिए। जनकम्युनले ५ बिघा क्षेत्रफलमा अकबरे खुर्सानी खेतीको तयारी गरिरहेको छ भने हाल २ बिघा क्षेत्रमा लगाइसकेको छ।

    कार्यक्रममा अध्यक्ष कार्कीले अकबरे खुर्सानी उत्पादनले गाउँपालिकालाई आर्थिक रूपमा बलियो बनाइरहेको भन्दै नेकपाको जनकम्युन प्रयासको प्रशंसा गरे। उनले भने, “नेकपाले जनकम्युनमार्फत जुन मेहनत गरिरहेको छ, त्यो प्रेरणादायी छ। हामी पनि यस्तो अवधारणा गाउँपालिकाभित्र लागू गर्ने सोचमा छौं।”

    उनका अनुसार रिम्दीकोट गाउँपालिकाले गत वर्ष २३ करोड रुपैयाँ बराबरको अकबरे खुर्सानी निर्यात गरेको थियो भने यो वर्ष ३१ करोड रुपैयाँको कारोबार भएको छ। आगामी पाँच वर्षभित्र एक अर्ब रुपैयाँ बराबरको खुर्सानी निर्यात गर्ने लक्ष्य रहेको जानकारी पनि उनले दिए।

    कार्यक्रममा नेकपाका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ले गाउँपालिकाले गरेको सहयोगप्रति आभार प्रकट गर्दै भने, “रिम्दीकोट गाउँपालिकाको यस्तो सहकार्य ऐतिहासिक छ। हामी सिद्धान्तलाई व्यवहारमा उतार्दै आत्मनिर्भरता र समृद्धिको बाटोमा अघि बढिरहेका छौं।”

    महासचिव विप्लवका अनुसार जनकम्युनले विगत वर्ष २ लाख किलो आलु उत्पादन गरेको थियो र अहिले ७० वर्षका वृद्धदेखि १७ वर्षका युवासम्मको सक्रिय सहभागिता रहेको छ। उनले भने, “पार्टीको काम भनेको भाषण मात्र होइन, उत्पादन र सिर्जनामा लाग्नु पनि हो।”

    कार्यक्रमको सञ्चालन पार्टीका केन्द्रीय पिबियम भेष राज सीले गरेका थिए। दुवै पक्षबीचको यो सहकार्यले आगामी दिनमा अझ सहकार्य र विकासका सम्भावनाहरू थपिने अपेक्षा गरिएको छ।