काठमाडौं, वैशाख २६ – भारत र पाकिस्तानबीचको पछिल्लो तनावका कारण मध्यपूर्वबाट नेपाल आउने हवाई जहाजहरूको रुट लम्बिएको छ।
पाकिस्तानको आकाश हुँदै भारत प्रवेश गर्ने पुरानो हवाई मार्ग प्रयोग गर्न नसकेपछि नयाँ रुटमा उडान भर्नुपर्ने भएपछि समयसमेत बढेको छ।
एयरलाइन्स कम्पनीका अनुसार दुईतर्फी उडानमा अहिले एकदेखि दुई घण्टासम्म समय बढी लाग्न थालेको छ। यसअघि कतारबाट काठमाडौं आउन ४ घण्टा ३० मिनेट लाग्थ्यो भने हाल त्यो समय ५ घण्टा १० मिनेट पुगेको छ।
यही अनुसार अन्य देशहरू – कुवेत, युएई, साउदी अरेबिया, ओमन, टर्की – बाट पनि नेपाल आउने उडानमा समय बढेको छ।
हालसम्म हवाई टिकटको भाउ भने यथावत् रहेको नेपाल एसोसिएसन फर ट्राभल्स एण्ड टुर्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमार थपलियाले जानकारी दिए। ‘दुई–तीन दिनअघि मात्र तनाव सुरु भएकोले तत्काल मूल्य निर्धारणमा असर परेको छैन,’ थपलियाले भने, ‘तर, एक साता पछि मूल्य बढ्न सक्ने सम्भावना छ।’
थपलियाका अनुसार उडान समय बढेपछि एयरलाइन्सको लागत बढ्छ। वाइडबडी जहाजहरूले एक घण्टामा करिब ४ लाख रुपैयाँ बराबरको इन्धन खपत गर्ने भएकाले लागत वृद्धिको असर टिकट मूल्यमा पर्ने देखिएको छ।
तर, लागत बढेपनि यात्रु संख्यामा गिरावट आउनसक्ने भएकाले टिकट मूल्य यथावत् रहने सम्भावना पनि रहेको उनले बताए।
यसरी भारत–पाकिस्तानबीचको तनावले नेपालको हवाइ यात्रामा प्रत्यक्ष असर पर्न थालेको देखिएको छ। भविष्यमा यो तनाव बढेमा अन्य हवाई सेवा र मूल्यमा थप असर पर्ने चिन्ता बढ्दै गएको छ।
प्रतिक्रिया दिनुहोस