असार, काठमाडौं १८ - रुस र युक्रेनबीच भीषण युद्ध चलिरहेको बेला अमेरिकाले युक्रेनलाई प्रदान गर्दै आएको केही हतियार सहायता रोक्ने निर्णय गरेको छ।
ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीका अनुसार अमेरिकाको राष्ट्रिय हितलाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको हो। अमेरिकी रक्षा विभागले विभिन्न मुलुकलाई दिइने सैन्य सहयोगको समीक्षा गरेपछि युक्रेनलाई हतियार आपूर्ति रोकेको बताइएको छ।
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिका युक्रेनलाई अर्बौं डलर बराबरको सैन्य सहायता दिँदै आएको थियो। तर हाल अमेरिकी हतियारको भण्डार घट्दै गएको भन्दै ट्रम्प प्रशासनसँग सम्बन्धित केही पूर्वअधिकारिहरूले चिन्ता व्यक्त गरेका छन्।
अहिलेसम्म युक्रेनले अमेरिकाको यो निर्णयबारे औपचारिक प्रतिक्रिया दिएको छैन।
यद्यपि अमेरिकी अधिकारीहरूले कुन–कुन प्रकारका हतियारहरूको आपूर्ति रोकिएको हो भन्ने स्पष्ट गरेका छैनन्। समाचार एजेन्सी रोयटर्सका अनुसार रोकिएको हतियारमा हवाई रक्षा प्रणालीका क्षेप्यास्त्र तथा सटीक निशानामा प्रहार गर्ने आधुनिक हतियारहरू समावेश छन्।
प्रतिक्रिया दिनुहोस