भारत, असार १५ - भारतको तटीय राज्य उडिसास्थित पुरी शहरको गुन्डिचा मन्दिरमा आइतबार एक धार्मिक चाडको अवसरमा भागदौड हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने कैयौँ श्रद्धालु घाइते भएका छन्।
रथ महोत्सवका क्रममा हजारौँ भक्तजनको भीड मन्दिर परिसरमा अचानक बढेपछि भागदौड मच्चिएको हो। जिल्ला प्रशासनका अधिकारी सिद्धार्थ स्वैनले दिएको जानकारीअनुसार भीडका कारण आवागमनमा समस्या उत्पन्न भएपछि स्थिति नियन्त्रणबाहिर गएको थियो। पेलापेलपछि नौ जना भक्तजनलाई श्वासप्रश्वासमा समस्या देखिएको र अस्पताल पुर्याइएका मध्ये तीन जनाको मृत्यु भएको पुष्टि गरिएको छ। अन्यको अवस्था स्थिर रहेको जनाइएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार घटनामा घाइते हुनेको संख्या अझै बढ्न सक्नेछ, यद्यपि सरकारी अधिकारीहरूले सबै विवरण पुष्टि गर्न बाँकी रहेको बताएका छन्।
उडिसाका मुख्यमन्त्री मोहनचरण माझीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतक परिवारप्रति समवेदना प्रकट गरेका छन्। सामाजिक सञ्जाल X (पूर्व ट्विटर) मा उनले लेखेका छन्, “ज्यान गुमाउनेका परिवारप्रति म गहिरो समवेदना प्रकट गर्दछु। यो लापरवाही अक्षम्य छ। सुरक्षामा भएको कमीकमजोरीको तत्काल छानबिन गर्न र दोषीमाथि कडा कारबाही गर्न निर्देशन दिएको छु।”
भारतमा धार्मिक चाडपर्वका अवसरमा अत्यधिक भीडका कारण हुने भागदौड प्रायः दोहोरिने घटना हो। यसअघि गत मे महिनामा गोवा राज्यमा आगोमाथि हिँड्ने धार्मिक अनुष्ठानका क्रममा ६ जनाको मृत्यु भएको थियो भने जनवरीमा प्रयागराजमा कुम्भ मेलामा भएको झडपमा कम्तीमा ३० जनाले ज्यान गुमाएका थिए।
प्रतिक्रिया दिनुहोस