२१ असार २०८३ आईतबार | 05 Jul 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

११–० को हारपछि एएफसी यू-२० महिला एसियन कपबाट नेपाल बाहिरियो



  • क्वालिटी खबर
  • ११ महिना अघि
  • पाठक संख्या ३७३
  • काठमाडौं, साउन २५ - भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार सम्पन्न एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित भएको छ।

    बलियो टोली उत्तर कोरियाले पहिलो हाफमै ५ गोल गरेको थियो भने दोस्रो हाफमा थप ६ गोल गर्दै विशाल जित सुनिश्चित गर्‍यो। यससँगै उत्तर कोरियाले समूहका तीनै खेल जितेर ९ अंक जोड्दै अर्को वर्ष थाइल्याण्डमा हुने फाइनल चरणमा स्थान सुरक्षित गर्‍यो। साविक विजेता समेत रहेको उत्तर कोरियाले छनोट चरणमा एक गोल पनि नखाइ ३६ गोल गरेको उल्लेखनीय प्रदर्शन गर्‍यो।

    यो हारसँगै नेपालको फाइनल चरणमा पुग्ने सम्भावना समाप्त भएको छ। नेपालले यसअघि भुटानसँग १–१ को बराबरी र साउदी अरेबियामाथि १–० को जीत हासिल गरेको थियो। तीन खेलबाट जम्मा ४ अंक मात्रै जोडेकाले उत्कृष्ट दोस्रोको आधारमा छनोट हुने आशा पनि टुटेको हो।

    प्रतियोगितामा ८ समूहका विजेता टोलीहरू प्रत्यक्ष छनोट हुने र उपविजेतामध्ये उत्कृष्ट तीन टोली फाइनल चरणमा पुग्ने प्रावधान रहेको छ। तर अन्य पाँच समूहका दोस्रो स्थानका टोलीसँग नै ६ अंक रहेकाले नेपाल त्यस सूचिमा पर्न असमर्थ भयो।

    नेपालले भुटान र साउदीलाई हराएर तथा उत्तर कोरियासँग बराबरी खेल्दै फाइनल चरणमा पुग्ने लक्ष्य बनाएको भए पनि अन्तिम खेलमा ठूलो अन्तरको हारले त्यो सपना अधुरै रह्यो।