२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

माल्टामा सडक दुर्घटनामा ४२ वर्षीय नेपालीको ज्यान



  • एजेन्सीको सहयोगमा
  • २ महिना अघि
  • पाठक संख्या ११६
  • माल्टा, साउन २५ - माल्टामा भएको सडक दुर्घटनामा म्याग्दीका ४२ वर्षीय नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष रेम्स खनालका अनुसार मृतक खिमबहादुर पुन करिब तीन वर्षदेखि माल्टामा रोजगारीमा संलग्न थिए। उनका परिवार हाल पोखरामा बसोबास गर्दै आएको बताइएको छ।

    घटना आइतबार बिहान बिरकिरकारा क्षेत्रमा स्थानीय समय अनुसार करिब ५ः२० बजे भएको हो। प्रारम्भिक अनुसन्धानका अनुसार पुनले चलाइरहेको मोटरसाइकललाई एउटा कारले ठक्कर दिएको थियो। सो कार त्यसपछि पार्किङमा रहेका तीन अन्य सवारीसाधनमा समेत ठोक्किएको र तुरुन्तै चालक र दुई जना सवार फरार भएको प्रहरीले जनाएको छ।

    स्थानीय सञ्चारमाध्यम ‘माल्टा टाइम्स’का अनुसार यो ‘हिट–एण्ड–रन’को घटना हो। घटनास्थलमै पुनको मृत्यु भएको थियो। केही मिनेटपछि प्रहरीले १८ वर्षीया मोस्टा निवासी युवतीलाई नियन्त्रणमा लिएको छ, जसलाई चोटपटक लागेकाले अस्पताल पुर्‍याइएको छ। तर, उनको स्वास्थ्य अवस्था सार्वजनिक गरिएको छैन।

    हाल कार चालक र अर्को सवारको खोजी जारी छ भने मृतकको शव मातर–देई अस्पतालमा राखिएको छ। केही साताअघि पनि माल्टामै एक नेपालीको पौडी खेल्ने क्रममा मृत्यु भएको थियो। माल्टामा अहिले करिब १० हजार नेपाली काम गरिरहेका छन् भन्ने अनुमान छ।