२८ साउन २०८३ बिहिबार | 13 Aug 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ओलीको चेतावनी: '१५ गते एमाले सशक्त रूपमा काठमाडौँमा देखिनुपर्छ'

ओलीले आगामी जेठ १५ गते काठमाडौँलाई एमालेको नियन्त्रणमा ल्याउन कार्यकर्तालाई निर्देशन दिएका छन्।



  • क्वालिटी खबर
  • १ बर्ष अघि
  • पाठक संख्या १८८
  • काठमाडौँ, जेठ ११ – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ १५ गते काठमाडौँलाई एमालेको नियन्त्रणमा ल्याउन कार्यकर्तालाई निर्देशन दिएका छन्।

    आइतबार बागमती प्रदेशमा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजावादी आन्दोलनलाई लक्षित गर्दै प्रतिगामी तत्त्वहरूलाई परास्त गर्न सबै कार्यकर्ता एकजुट हुनुपर्ने बताएका हुन्।

    अध्यक्ष ओलीले भने, “१५ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्दछ। कसरी, कुन संस्था अगाडि लाग्छ भन्ने छाडिदिनुहोस्, सबै एउटै धारमा अघि बढ्नुहोस्।”

    राजतन्त्र फर्कने कुनै आधार नभए पनि प्रतिगामी विचारधाराले जनमानसमा भ्रम फैलाउने प्रयास गरिरहेकाले सतर्क हुनुपर्ने उनको भनाइ थियो। “लाज नमानीकन जनतालाई रैती हुन पाउँ भन्नेहरूले फैलाउने भ्रम चिर्न जरुरी छ,” ओलीले स्पष्ट पारे।

    उनले आगामी १५ गतेको प्रदर्शनको विपक्षमा तयारी अवस्थामा रहन पनि निर्देशन दिए। “जनता र सरकार मौन बसेको अवस्थामा केही तत्वहरू अनावश्यक फुर्तिफार्ति देखाइरहेका छन्। तर एमाले ढ्याङग्रो लिएर मैदानमा उत्रिएपछि उनीहरू कता दुला पस्छन् भन्ने थाहा हुनेछ,” उनले चेतावनी दिए।

    ओलीले राजावादीहरूले कुनै महान उद्देश्यका लागि लडिरहेका नभइ अवसरको फाइदा उठाउने प्रयास गरिरहेका बताए। एमाले कार्यकर्तालाई जनताको बीचमा पुगेर साँचो तथ्य बुझाउन र भ्रम चिर्न आग्रह समेत उनले गरे।