२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रधानमन्त्रीलाई उत्तेजित अभिव्यक्ति नदिन गगन थापाको आग्रह

गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रह गरेका छन्।



  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या ७७
  • काठमाडौं, जेठ १२ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रह गरेका छन्। सोमबार पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीबाट आएका अभिव्यक्तिप्रति आपत्ति जनाए।

    महामन्त्री थापाले भने, "हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो अभिव्यक्ति दिनु कल्पना बाहिरको कुरा हो। यस्ता कुरा बाहिर दोहोरिनु हुँदैन।"

    उनको भनाइ अनुसार, प्रधानमन्त्री स्वयंले राजधानी काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिनु लोकतान्त्रिक अभ्यासविपरीत र उत्तेजक अभिव्यक्ति हो। प्रधानमन्त्री ओलीले गत शनिबार गोदावरीमा आयोजित एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रममा यस्तो निर्देशन दिएका थिए।

    उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै थापाले नेताहरूको बोली जिम्मेवार हुनुपर्ने र यस्तो किसिमको अभिव्यक्ति निष्पक्ष लोकतान्त्रिक वातावरणमा नचल्ने स्पष्ट पारे।

    यता, आगामी जेठ १५ गते राप्रपा, राप्रपा नेपाललगायतका राजावादी दल तथा संघसंस्थाहरूले राजतन्त्र पुनर्स्थापना, संघीयता खारेज, हिन्दूराज्य पुनर्स्थापनालगायतका माग राख्दै आन्दोलन घोषणा गरिसकेका छन्। यस्तो संवेदनशील घडीमा प्रधानमन्त्रीको अभिव्यक्तिले थप उत्तेजना निम्त्याउने महामन्त्री थापाको भनाइ छ।