कञ्चनपुर, असार १६ - कञ्चनपुर जिल्लामा भारी वर्षा भइरहेका कारण बाढीको जोखिम बढ्दै गएको छ । बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान ११:५० बजे सूचना जारी गर्दै मंगलबार बिहानसम्म उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा शान्तिपुर बेलौरी स्टेसनमा २६४.६ मिलिमिटर र कृष्णपुर स्टेसनमा १८४ मिलिमिटर वर्षा मापन गरिएको छ । भारी वर्षाका कारण कञ्चनपुरका अधिकांश नदीहरूमा पानीको बहाव तीव्र बनेको र होचा भू-भागमा डुबानको खतरा बढेको छ ।
हाल देशभर मनसुनी वायुले प्रभाव जमाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालको नजिक सरदर स्थानको उत्तरतर्फ सरेको छ । यसले गर्दा देशका विभिन्न भागहरूमा मौसम बदली भएको छ ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ भने अन्य भागहरूमा आंशिक बदली देखिएको छ । सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै, कोशी र कर्णाली प्रदेशका एक-दुई स्थानमा पनि हल्का वर्षा जारी छ ।
महाशाखाले विशेषगरी कञ्चनपुर क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन, जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षाका लागि स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस